काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले ३८ औं साधारणसभाको मिति घोषणा गरेको हो ।
बैंकले आगामी फागुन १५ गते काठमाडौंको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान १० बजेदेखि सुरु हुने छ । बैंकले गत आवको लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । साविक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म सेयरधनीलाई कुनै लाभांश दिएको छैन ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०÷८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।
बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८०÷८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि साधरण सभाले पारित गर्नेछ । यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै सभामा साधारणले नियमनकारी निकायबाट कुनै संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि साधारण सभासम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्