Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थाको निक्षेप ६७ खर्ब २१ अर्ब, कर्जा प्रवाह ५४ खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम ६७ खर्बभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीमा गरेर निक्षेप रकम ६७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको हो ।

उक्त निक्षेप नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको विवरणअनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको हो । बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूमा मात्र कुल ५९ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम पनि पछिल्लो अवधिमा ७ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल कर्जा रकम भने ५४ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४८ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम ६ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) भने ७९.४१ प्रतिशत रहेको छ ।

सोअनुसार बैंकिङ क्षेत्र अहिले पनि ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छ । क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढ्दै गएको हो । यो अवधिमा अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ । अहिले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर अधिक तरलता खिच्दै आएको छ । हिजो (बुधबार) मात्रै केन्द्रीय बैंकले ३५ अर्ब रुपैयाँ प्रशोचन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal