काठमाडौं । नेपाल पर्वतारोहण संघले हिमाल आरोहण गर्न चाहनेहरुका लागि सहुलियत दरको नयाँ बीमा स्कीम सार्वजनिक गरेको छ । संघले सलिकोसँगको सहकार्यमा यसअघि २० हजार रुपैयाँ भन्दाबढी बीमाशुल्क पर्ने हिमाल आरोहण सम्बन्धी बीमा स्कीम जम्मा १० हजार ५०० रुपैयाँमा उपलब्ध हुने जनाएको छ ।
संघका अनुसार यो योजना पर्वतारोहण मार्ग दर्शक, सर्दार तथा सहयोगी आरोहीहरुलाई लक्षित गरी सूरु गरिएको हो । यसले ट्रेकिङ एजेन्सीहरूको आर्थिक भार कम गर्नुका साथै नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मोसीटीसीए) द्वारा तोकिएको बीमा मापदण्डलाई पूर्ण रूपमा सम्बोधन गर्ने संघले विश्वास लिएको छ ।
संघका अनुुसार यो योजनाअन्तर्गत तीन महिनाका लागि १५ लाख रुपैयाँको दुर्घटना बीमा, चार लाख रुपैयाँको स्वास्थ्य बीमा र १० हजार अमेरिकी डलर बराबरको हेलिकप्टर उद्धार बीमा समेटिनेछ । यसअघि, यस्तो बीमाका लागि ट्रेकिङ एजेन्सीहरूले २० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो। तर, अब बीमा शुल्क ८ हजार ५०० रुपैयाँ र सेवा शुल्क २ हजार रुपैयाँ गरी जम्मा १० हजार ५०० रुपैयाँमा यो सेवा उपलब्ध हुनेछ ।







प्रतिक्रिया दिनुहोस्