Skip to content

८.७२ प्रतिशतले बढ्यो बुटवल पावरको नाफा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा बुटवल पावर कम्पनी लिमिटेडको नाफा ८.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२२ प्रतिशत बढेर ४१ करोड ८९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ०.८५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.६७ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २७.३४ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९१ पैसा बढेर ११ रुपैयाँ ३७ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६९.५३ गुणा रहेको छ ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime