काठमाडौं । एनसेलले आज बिहीबारदेखि आफ्ना ग्राहकहरूलाई वाइफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाइफाई) सेवाको सुरुवात गरेको छ ।
नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको हो । यो सेवाले ग्राहकहरूलाई कुनै पनि भरपर्दो वाइफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ ।
वाइफाई कलिङ्का नामले पनि चिनिने भोवाइफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिंका बेसमेन्टहरु र दुर्गम स्थानहरुमा सेवा लिनसमेत प्रयोग गर्न सकिन्छ ।
प्रारम्भिक चरणमा हाललाई, एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आइफोन मोडेलहरूमा उपलब्ध रहेको छ । यसको विशेषता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन ।
ग्राहकहरुले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन् । भ्वाइस ओभर लङ् टर्म इभोलुसन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाइफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्छ ।
कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरुबाट कुराकानी गर्दा गर्दै मोबाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाइफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विशेषता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरुका लागि धेरै फाइदा पुर्याउँछ ।
भोवाइफाई सेवाका साथ ग्राहकहरुलाई मोबाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरुमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाइफाई सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ ।
यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाइफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ । भोवाइफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरि एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ ।
त्यसपश्चात ग्राहकले कुनै पनि भरपर्दो वाइफाईमार्फत भोवाइफाई सेवाको फाइदा लिन सक्छन् । सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाईफाई वा वाइफाई कलिङ दुवै आफ्नो मोबाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपर्छ । त्यसका लागि सेटिङमा गएर, मोबाइल नेटवर्कभित्र गई सिमकार्ड छान्नुपर्छ र भोवाइफाई, वाइफाई कलिङ वा सोहीअनुसार छानेर सक्रिय गर्नुपर्छ ।
यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाईफाई वा वाइफाई कलिङ देखेमा सो मोबाइलमा भोवाइफाई सेवा चल्ने बुझिन्छ । सेटिङ्मा भोवाइफाई, वाइफाई कलिङ सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ ।






प्रतिक्रिया दिनुहोस्