Skip to content

बैंकिङ क्षेत्रमा बढ्दै निक्षेप, ६७ खर्ब २९ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह ५४ खर्ब मात्रै

nabil bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम ६७ खर्बभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीमा गरेर निक्षेप रकम ६७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको हो ।

उक्त निक्षेप नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको विवरणअनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको हो । बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूमा मात्र कुल ५९ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम ७ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रले हालसम्ममा ५४ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४८ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम ६ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) भने ७९.४८ प्रतिशत रहेको छ ।

सोअनुसार बैंकिङ क्षेत्र अहिले पनि ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने क्षमता देखिन्छ । क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढ्दै गइरहेको छ । जसका कारण केन्द्रीय बैंकले सातामा दुई दिन बजारबाट ठूलो मात्रामा रकम प्रशोचन गर्नु परिरहेको छ ।

यो अवधिमा अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ । अहिले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर अधिक तरलता खिच्दै आएको छ । हिजो (बुधबार) मात्रै केन्द्रीय बैंकले बजारबाट ६० अर्ब रुपैयाँ खिचेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime