काठमाडौं । माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे गाउँपालिका वडा नंः ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा माघ २१ देखि २४ गतेसम्म सेयरसम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
क्यापिटलको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम, माघ २१ देखि २२ गतेसम्म (२ दिन) माछापुच्छ्रे गाउँपालिका कास्कीको वडा नंः ४ लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा र माघ २३ देखि २४ गतेसम्म (२ दिन) माछापुच्छ्रे गाउँपालिका कास्कीको वडा नंः ३ र सो वडाका गाउँहरुमा सम्पन्न गरेको छ ।
सो वित्तीय साक्षरता, सचेतना र घरदैलो कार्यक्रम, वडा नंः ४, घाचोक माछापुच्छ्रे बैंक बगर शाखा का शाखा प्रबन्धक उज्जवल घिमिरे तथा माछापुच्छ्रे बैंकका गण्डकी प्रदेशका क्लस्टर प्रमुख जीवनबहादुर कार्कीको समन्वयमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा नंः ३ का वडा अध्यक्ष हरिश्चन्द लम्साल तथा वडा नंः ४ का वडा अध्यक्ष मधुसुधन अधिकारीको समेत उपस्थित थियो भने क्यापिटलका तर्फबाट सञ्चालन प्रमुख करुना थापा तथा निक्षेप सदस्य विभागका कर्मचारी कोपिला पौडेल उपस्थित थियो ।
क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्ष्यमा माघ महिनाभरि रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगलगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाएको थियो ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।







प्रतिक्रिया दिनुहोस्