काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन् ।
भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर चाँडो सकेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए ।
सो क्रममा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ ।
यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको र यसका लागि औपचारिक पत्राचार सम्बन्धित अधिकारीले गर्ने छन् ।
यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डिपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका थिए ।
भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ उर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए भने भारतीय उच्च अधिकारीको समेत सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्