जुम्ला । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनअनुसार जुम्लाको तातोपानी गाउँपालिका उत्कृष्ट देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिकाले ६७ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।
हिमा गाउँपालिकाले ६१ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गरी दोस्रो, सिञ्जा गाउँपालिकाले ५८ दशमलव एक प्रतिशत, कनकासुन्दरीले ५६ दशमलव नौ प्रतिशत, पातारासी गाउँपालिकाले ५२ दशमलव छ प्रतिशत, गुठीचौर गाउँपालिकाले ४९ दशमलव सात प्रतिशत अङ्क पाएका छन् ।
यस्तै, चन्दननाथ नगरपालिकाले ५६ दशमलव आठ प्रतिशत, सुनछहरी गाउँपालिकाले ४५ दशमलव आठ प्रतिशत र सबैभन्दा कमजोर तिला गाउँपालिकाले ३८ दशमलव दुई प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान समयमा गाउँसभामा पेस गरेरनगरेकोदेखि समयमा बजेट पास भएरनभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकाङ्कमा मूल्याङ्कन हुने गर्छ ।
‘सुशासन, समन्वय, पूर्वाधार, न्यायिक कुरा पनि हुन्छन्”, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले भने, ‘शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुरा पनि हुन्छ । नीति, नियम, कानुनबमोजिम काम भएरनभएको, बेजुका कुरा छन् त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।’ गाउँपालिकाले शिक्षामा लगानी गरेको छ, स्वास्थ्यमा त्यहीअनुसारकै लगानी गरिरहेका छौँ । शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारमा पनि पालिकाले नमूना काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईले बताए ।
वित्त आयोगले आव २०८०र८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो ।






प्रतिक्रिया दिनुहोस्