काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ ।
बिहीवार भारतको भ्रमण सेकर स्वदेश फर्किएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने बताएका हुन् । उनले छिट्टै नै भारतीय ऊर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरु (विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए । उनले भारतीय उर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी दिए ।
उनले भने, ‘उर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।’ मन्त्री खड्काले उर्जा क्षेत्रमा भारतको राम्रो सहयोग गरेको महसुस गरेको पनि बताए।—न्युज एजेन्सी नेपाल






प्रतिक्रिया दिनुहोस्