Skip to content

माङ्सेबुङमा २ करोडका ४ सिँचाइ आयोजना सुरु

nabil bank

इलाम । जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी दुई करोड ८० लाख सात हजार छ सय ७८ रुपैयाँको लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् ।

सो गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इञ्जिनियर (अधिकृत छैटौँ) युवराज दाहालले जानकारी दिए । वडा नं १ स्थित नाङरुङ टोलमा ७५ लाख ५९ हजार नौ सय ५६ रुपैयाँको लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ ।

वडा नं ३ को सिङलाबु टोलमा रु ३८ लाख २७ हजार नौ सय ७२ को लागतमा खोँगीखोला सिङलाबु सिँचाइ योजना सुरु भएको छ । त्यस्तै वडा नं ४ को सिङफेरे र मार्चेबुङ टोलमा ८६ लाख १९ हजार सात सय ५० रुपैयाँको लागतमा रतुवाखोला बधमारा सिङफेरे मार्चेबुङ सिँचाइ योजना सुरु भएको हो ।

आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत अर्थात् ८४ लाख दुई हजार तीन सय तीन तथा सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको २०/२० प्रतिशत अर्थात् ५६ लाख एक हजार तीन सय ३५ रुपैयाँका दरले र स्थानीय उपभोक्ताको १० प्रतिशत अर्थात् २८ लाख सात सय ६७ रुपैयाँ लागत साझेदारी रहेको छ ।

त्यसैगरी यस वर्ष तीन सिँचाइ योजना मर्मतसम्भारको काम सुरु भएको छ । सोही कार्यक्रमअन्तर्गत वडा नं १ स्थित बयरबोटे टोलमा चार लाख ७९ हजार रुपैयाँको लागतमा बरबोटे सिँचाइ योजना, सोही वडाको तीनघरे टोलमा चार लाख १९ हजार चार सय रुपैयाँको लागतमा तीनघरे सिँचाइ योजना र वडा नं ३ को चतुवा बेँसी टोलमा १२ लाख १० हजार दुई सय रुपैयाँको लागतमा रतुवा चिण्डे ठूलो बेँसी सिँचाइ योजना मर्मतसम्भारको काम भइरहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

यसअघि नै निर्माण भएर प्राकृतिक प्रकोपका कारण क्षति भएका योजनाको मर्मतसम्भारको काम सुरु गरिएको उनले बताए । मर्मतसम्भारमा नयाँ निर्माण झैँ साझेदारी गरिएको उनले जानकारी दिए । गत वर्ष गाउँपालिकामा रु तीन करोड २६ लाख ५३ हजार तीन सय ४९ को लागतमा छ वटा सिँचाइ कूलो निर्माण सम्पन्न भइसकेका छन् । सो योजनाबाट ६६ दशमलव २३ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा रहेको खोँगीका उपभोक्ता अनिस सुनुवारले बताए । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कअनुसार यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिकटन धान उत्पादन भएको छ ।

यस्तै १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धानखेती लगाइएको थियो । इलाममा रञ्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा कृषि क्षेत्रको व्यावसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi