Skip to content

सर्वोत्तम सिमेन्टद्वारा शुभश्री र जगदम्बा सिमेन्टको पूर्ण स्वामित्व अधिग्रहण

nabil bank

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनीको पूर्ण स्वामित्व अधिग्रहण गरेको छ।

सर्वोत्तम सिमेन्टको छैटौं साधारणसभामा खरिदको निर्णय सार्वजनिक गरिएको हो। कम्पनीले शुभश्री जगदम्बा सिमेन्ट मिल्सको सेयर प्रतिकित्ता १०० तथा जगदम्बा सिमेन्ट कम्पनीको सेयर १५ रुपैयाँको दरले खरिद गरेको जनाएको छ।

सन् २००१ मा स्थापना भएको जगदम्बा सिमेन्ट नेपाली सिमेन्ट उद्योगका पुराना ब्रान्डमध्ये एक हो। यो अधिग्रहणसँगै शंकर ग्रुपले करिब २३ वर्ष पुरानो ब्राण्ड जगदम्बा सिमेन्टबाट हात झिकेको छ। जगदम्बा सिमेन्टमा १ अर्ब रुपैयाँ पुँजी थियो, जसमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपका न्यौपाने दाजुभाइको ५५ प्रतिशत स्वामित्व रहेको थियो।

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेका अनुसार यसो गर्दा कम्पनीलाई पुरानो ब्रान्डसँगै बलियो डिलर नेटवर्कको फाइदा दिलाउनेछ। साथै, नयाँ उद्योग स्थापना गर्दा लाग्ने खर्चभन्दा यो अधिग्रहण लाभदायक हुने उनको भनाइ छ।

यो खरिदपछि सर्वोत्तम सिमेन्टले आफ्नो उत्पादन क्षमता विस्तार गर्दै बजार हिस्सा बलियो बनाउन र उपभोक्तालाई उच्च गुणस्तरको उत्पादन उपलब्ध गराउने योजना अघि सारेको छ।

विश्लेषकहरूका अनुसार, यो अधिग्रहणले नेपाली सिमेन्ट उद्योगमा प्रतिस्पर्धालाई नयाँ मोड दिनेछ। निर्माण व्यवसायीहरूका लागि मूल्य स्थिरता कायम रहन सक्छ भने लगानीकर्ताका लागि नयाँ अवसरहरू खुल्ने सम्भावना रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime