काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम ६७ खर्ब ३२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको फागुन २ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीमा गरेर निक्षेप संकलन ६७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो ।
उक्त निक्षेप नेपाल राष्ट्र बैंकले पछिल्लोपटक अद्यावधिक गरेको विवरणअनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको हो ।
बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूमा मात्र ६० खर्ब ३ अर्ब रुपैयाँ निपेक्ष रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम ७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रले हालसम्ममा ५४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) भने ७९.४८ प्रतिशत रहेको छ ।
सोअनुसार बैंकिङ क्षेत्र अहिले पनि ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने क्षमता देखिन्छ । क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढ्दै गइरहेको छ ।
अहिले अन्तर बैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ । अहिले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर अधिक तरलता खिच्दै आएको छ । हिजो (मंगलबार) मात्रै केन्द्रीय बैंकले बजारबाट ४० अर्ब रुपैयाँ खिचेको थियो ।
प्रतिक्रिया दिनुहोस्