काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिइरहेको अनुदान रकम एकपछि अर्को गर्दै रोक्न थालेका छन्। सुरुमा नेपालभित्र २ खर्ब ६५ अर्बका परियोजना चलाइरहेको यूएसएडका सबै कार्यक्रम रोकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना पनि रोकिदिएका छन् ।
ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै संसारभर दिइएको अनुदानमा अंकुश मात्रै नभएर दिन बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकी सहायता परियोजना यूएसएड र एमसीसी रोकिएकै बेला राष्ट्रपति ट्रम्पले नेपाललाई गरिएका दुईवटा सहयोगका विवरण नै सार्वजनिक गरेका छन् ।
उनले नेपाल र भारतलाई दिइएका सहयोगका विवरण सार्वजनिक गर्दै किन यसरी लगानी गरिएको होला भनेर प्रश्न पनि गरेका छन् । ट्रम्पले बुधबार एक दस्तावेज सार्वजनिक गर्ने क्रममा नेपालमा वित्तीय संघीयता कार्यान्वनका लागि अमेरिकाले दिएको २ करोड अमेरिकी डलरको विवरण सार्वजनिक गरिदिएका छन् । उनले नेपाललाई वित्तीय संघीयताका लागि दिइएको उक्त रकमको नम्बर सुनाउँदै ठगीको संज्ञा दिएका छन् ।
‘नेपालको वित्तीय संघीयताका २० मिलियन डलर पठाएका रहेछौँ’, उनले दस्तावेज पढ्दै भने, ‘यी नम्बरहरू सुन्नुस् त, यी सबै ठगी हुन् ।’ उनले नेपालको जैविक विविधता संरक्षणका लागि एक करोड ९० लाख डलर पठाएको भन्दै त्यसलाई पनि अनावश्यक भनेका छन् ।
ट्रम्पका निकट सहयोगी इलोन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) ले तयार पारेको दस्तावेजमा नेपाललाई दिइएका दुई सहयोगसम्बन्धी विवरण उल्लेख छ ।
उनले अमेरिकाबाट भारतका मतदातालाई पनि २ करोड १० लाख डलर पठाएको विवरण सार्वजनिक गरेका छन् । ‘हामीले भारतीय मतदाताका नाममा किन यो सहयोग दिइरहेका छौँ ? मतदान प्रतिशत बढाउने नाममा त्यहाँ उनीहरूले धेरै पैसा पाए । तर धेरै कर लगाउने देशहरूमध्ये भारत पनि हो । भारतप्रति सम्मान छ । भारतीय प्रधानमन्त्रीप्रति सम्मान छ । तर यो सहयोग अनावश्यक हो ।’
ट्रम्पले सार्वजनिक गरेको दस्तावेजमा नेपाल र भारतसहित विभिन्न देशलाई अमेरिकाले विगतमा विभिन्न शीर्षकमा गरेका सहयोगको लामो सूची छ । यस्तोमा ट्रम्पले यसअघि डेमोक्रेट सरकारले नेपाललाई दुई शीर्षकमा दिएको सहयोगलाई ठगी भनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्