काठमाडौं । नेपाल र ओमनबीच पर्यटनको विकास, प्रवद्र्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनमा रहेका परराष्ट्रमन्त्री आरजु राणा देउवा र ओमनका सम्पदा तथा पर्यटनमन्त्री सलिम बिन मोहम्मद बिन सयद अल महरूकबीच आज ओमनको राजधानी मस्कटमा भएको भेटवार्तापछि सो समझ्दारी भएको हो ।
यस समझ्दारीपछि दुई देशबीचमा पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन सूचना एवं ‘हस्पिटालिटी’ का क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान र समन्वय हुनेछ । सो भेटका क्रममा उहाँहरुबीचमा नेपालमा पर्यटनका क्षेत्रमा गर्न सकिने लगानी एवं दुवै देशको पर्यटीय सम्भावना र आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
त्यसैगरी आज नै मस्कटमा मन्त्री डा देउवा र ओमनका ऊर्जा तथा खनिजसम्बन्धी मन्त्री सलिम बिन नसर अल अउफीबीच पनि भेटवार्ता भएको थियो । उनीहरूबीच दुई देशबीचको सम्बन्ध तथा ऊर्जाका क्षेत्रमा रहेका सम्भावित आपसी सहयकार्य र लाभका बारेमा कुराकानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्