काठमाडौं । माघ २८ गते बझाङ जिल्लाको साइपालमा एभरेष्ट बैंकले शाखा विस्तार गरेसँगै ७ सय ५३ स्थानीय तहमा बैंकको शाखाको पहुँच पुग्यो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धिको हिसाबले सबै स्थानीय तहमा बैंकको शाखा पुर्याउन सफल भए ।
सबै स्थानीय तहमा बैंकको शाखा पुगे पनि बैंकहरूको पछिल्लो अनुभव भने १० देखि १५ प्रतिशत शाखा बन्द गर्नुपर्ने देखिएको छ । राष्ट्र बैंकका अनुसार अहिले सबै स्थानीय तहमा गरेर वाणिज्य बैंकको शाखा ५ हजार ७८ पुगेको छ ।
विकास बैंकको शाखा संख्या १ हजार १ सय ३२, फाइनान्स कम्पनीको शाखा २९१ रहेको छ ।
विगतमा व्यवसाय विस्तार हुन्छ भनेर अत्याधिक शाखा खोलेका बैंकहरूलाई अहिले त्यो शाखा कार्यालय नै समस्यामा परेको छ । धेरै शाखा भएको एउटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले ३० प्रतिशत शाखा अहिले घाटामा सञ्चालन भएको र १५ देखि २० प्रतिशत बैंकको शाखा बन्द गर्दा हुने अवस्थामा पुगेको बताउँछन् । ‘व्यवसाय बढाउनका लागि हिजोको दिनमा धेरै शाखा खोल्ने बैंकहरूले प्रतिस्पर्धा गरे,’वाणिज्य बैंकका सीईओले अनुभव सुनाउँदै भने,‘अहिले राष्ट्र बैंकले शाखा बन्द गर्न दिएको छैन नाफा नभएको बेलामा खराब कर्जा मात्र बढेको छ ।
’ चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरूको वित्तीय विवरण राम्रो आएन । लगातार २ वर्षदेखि आधा दर्जनभन्दा बढी बैंकले लगानीकर्तालाई लाभांश दिन सकेका छैनन् । यो वर्षको ६ महिनाको वित्तीय विवरण हेर्दा आगामी वर्ष पनि धेरै बैंकबाट लाभांशको आशा करिब नगर्दा हुने देखिएको छ । बैंकको खराब कर्जा धेरैजसो बैंकले ५ प्रतिशत मिलाएर कटाएका छैनन् ।
केही बैंकको ७ प्रतिशत नजिक भएपनि खराब कर्जा १० प्रतिशत धेरैजसो बैंकको पुगेको कुराकानी बैंकरहरू अनौपचारिक रुपमा गर्छन् । राष्ट्र बैंकले वित्तीय पहुँच पुर्याउनुपर्ने स्थानीय तह बाहेक बढी शाखा भएका स्थानमा शाखा बन्द गर्न दिनुपर्ने माग वाणिज्य बैंकका सीईओहरूको छ । यसबाहेक विगतमा विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा राखिएका बैंकका काउन्टर समेत कतिपयको प्रयोजनमा आउन सकेका छैनन् ।
बैंकहरूले ऋण दिएको आधारमा त्यस्ता औद्योगिक प्रतिष्ठानहरूमा तथा कलेज तथा विश्वविद्यालय तथा अस्पतालमा काउन्टर राखेका थिए । डिजिटल कारोबारले गर्दा अहिले बैंकको काउन्टर सेवा कतिपय स्थानमा प्रयोजन बिहिन भएको बुझाई बैंकरहरूको छ । बैंकहरूमा डिजिटल कारोबारले गर्दा अहिले मसान्तमा बाहेक अरु दिनहरूमा २५ प्रतिशतजतिले बैंकमा आउने सेवाग्राहीको संख्या कम भएको बैंकरहरू बताउँछन् ।
‘डिजिटल कारोबारमा भएको वृद्धिसँगै पैसा निकाल्न जम्मा गर्नको लागि बैंक जानुनपर्ने स्थिति छ,’एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने,‘अत्याधिक शाखा भएका सहरी क्षेत्रमा बन्द गर्दा राम्रो हुने देखिएको छ ।’ बैंकरका अनुसार एउटा शाखा बन्द गर्दा ठाउँ अनुसार ५० लाखदेखि २ करोडसम्म पैसा जोगिने बताउँछन् । राष्ट्र बैंकले बैंक शाखा बन्द गर्ने अनुमति दिएमा त्यो शाखामा भर्ना भएका कर्मचारी हटाउन दिदैन ।
शाखा बन्द भएपछि त्यहाँ भएका कर्मचारीलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने हुन्छ । अहिले बैंकमा छाड्ने कर्मचारीको संख्या बढ्दो क्रममा रहेको छ । राष्ट्र बैंकका अनुसार अहिले सबैभन्दा बढी बैंकको शाखा एनआईसी एसिया बैंकको रहेको छ । एनआईसी एशिया बैंकको ४ सय ७६,ग्लोबल आइएमई बैंकको ४ सय २० तथा कुमारी बैंकको ३५४ वटा बैंकको शाखा छ । शाखा संख्या कम हुनेमा स्टैण्डर्ड चार्टर्डको १५ तथा त्यसपछि नेपाल एसबिआई १२० छ । चार्टर्डलाई राष्ट्र बैंकले स्थानीय तहमा जानु नपर्ने समेत सुविधा दिएको थियो । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल केही बैंकहरूले शाखा बन्द गर्नको लागि निवेदन दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्