काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि आईपीओ खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यही फागुन २० गतेदेखि आईपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले आवेदन यही फागुन २० गतेदेखि चैत ५ गतेसम्म दिन सकिनेछ । आयोजना प्रभावितका लागि निष्कासन गरिएको सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन अवधि लम्ब्याइनेछ भने वैदेशिक रोजगारीमा रहेकाका लागि आवेदन लम्बिने छैन । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्