Skip to content

एउटै वडामा ३ जलविद्युत् आयोजनाको निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरु भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका हुन् ।

ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रबर्द्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरु गरेको छ भने हाइड्रो भिलेज प्रबर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रबर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरुङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठवटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीनवटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

‘जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेसँगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ, हामीले आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छौँ’, गाउँपालिका अध्यक्ष पुनले भने ।

मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका–७ भारवाङमा विद्युत्गृह रहने अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरूङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरू गरेको छ । विसं २०८१ वैशाख २८ गतेदेखि पुर्वाधार निर्माण गर्न सुरू गरेको आयोजनाले कूल पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये पाँच सय ३० मिटर सुरुङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।

उनका अनुसार, दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पूरा भएको छ । मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युत्गृहको पहुँचमार्ग निर्माण गरेको छ । नाउरादेखि छ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युत्गृहको लागि पूर्वाधार बनाउने र सुरुङ निर्माणको तयारी गरिएको छ । सुरुङ निर्माण र विद्युत्गृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताए ।

मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरुङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले जानकारी दिए । आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने विद्युत्गृहबाट सुरुङ खन्ने तयारी गरिएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्