काठमाडौं । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ
घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको आयात र एक खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको हो ।
विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा ६ दशमलव २० प्रतिशतले बढेको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।
सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट पाँच खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँगको व्यापार घाटा एक खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ बराबर छ ।
पछिल्लो सात महिना अवधिमा चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात हुँदा दुई अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।
नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानस्तानसँग छ । अफगानस्तानसँग सात महिनामा एक करोड २४ लाख रुपैयाँको आयात र ५९ करोड ४५ लाख रुपैयाँको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरुसँग व्यापार नाफा बढी रहेको छ ।
विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाख रुपैयाँको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँको पेट्रोल र ६ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको एलपि ग्यास आयात भएको छ ।
त्यस्तै, पाँच अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र पाँच अर्ब ४३ करोड ४१ लाख रुपैयाँको अन्य सवारीसाधन आयात भएको छ । सात महिनामा तीन अर्ब ५३ करोड ९७ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, ६ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको सूर्यमुखी तेल, पाँच अर्ब ३८ करोड ८० लाख रुपैयाँको अलैँची, तीन अर्ब ८९ करोड ५२ लाख रुपैयाँको कार्पेट, तीन अर्ब १० करोड रुपैयाँको धागो र तीन अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस्