Skip to content

अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने

nabil bank
काठमाडौँ, ११ फागुनः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा आफ्नो धारण राख्दै सासंद गोकुल बास्कोटा । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोको बारेमा प्रतिवेदन बनाउनुपर्ने जरुरी भएको बताए।

‘अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । नेपालको अन्तरराष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पु¥याउने काम कहीकतैबाट हुनु हुँदैन’, सांसद बाँस्कोटाले भने, ‘नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको हो ? सोबारे स्पष्ट हुनु जरुरी छ ।’

उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकामा जोड दिए । नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

सांसद बाँस्कोटाले सन् २००२ देखि सन् २०२१ सम्म करिब २१ खर्ब र सन् २०२२ देखि २०२७ सम्म छ सय ६९ मिलियन अमेरिकी डलर नेपालले सहयोग प्राप्त गर्ने भन्ने विषयबारे सरकारले अध्ययन गरी एउटा प्रतिवेदन बनाउनुपर्ने भन्दै त्यो प्रतिवेदनमा कति–कति रकम कहाँ खर्च भयो ? भन्ने स्पष्ट आउनुपर्ने सरकारसँग माग गरे ।

‘कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ’, सांसद बाँस्कोटाले भने, ‘प्राप्त सहयोग र खर्चसम्बन्धी सम्पूर्ण जानकारी सांसद् र आमनागरिकले थाहा पाउनुपर्छ ।’ उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकलाई समृद्ध बनाउन आपसी सहकार्य र समन्वयको आवश्यकता औँल्याए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime