काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्ष सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीन जनामध्ये सरकारले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी, शरद ओझा र डा. दामोदर बसौलाको नाम सिफारिस गरेको थियो ।
को हुन अध्यक्ष ओझा ?
कृष्णपुर ०८, कञ्चनपुर स्थायी ठेगाना भएका ओझा लामो समय पत्रकारितामा सक्रिय रहेका थिए । ३३ वर्षीय ओझासँग सञ्चार, वकालत, कर्पोरेट क्षेत्रमा उच्च व्यावसायिक तहमा काम गरेको अनुभव छ । उनले विभिन्न क्षेत्रमा १२ वर्षको कार्यअनुभव हासिल गरेका छन् । उनी कानुन व्यवसायीका साथै व्यवस्थापन कलेजका अध्यापकसमेत हुन् । उनले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा समेत कार्य गरेका छन् ।
त्यस्तै, पर्यटन नीति २०८१ निर्माणमा संलग्न, नीति तथा कानुनी परमर्शदाताका रूपमा समेत उनले काम गरेका छन् । उनले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर, कानुनमा स्नातक, पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।
आर्थिक पत्रकारका रूपमा पनि उनले विभिन्न सञ्चारमाध्याममा काम गरेका छन् । उनले क्लिकमाण्डु डटकममा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाका रूपमा काम गरेको अनुभव छ । त्यस्तै हिमाल खबर पत्रिका,बिजमाण्डू, नेपाली टाइम्स, देश सञ्चार अनलाइन, प्रशासनिक माकिस तथा ट्रिनिटी एक्जिम तथा वरुण वेभरेज (नेपालमा पेप्सी उत्पादन तथा वितरण गर्ने कम्पनी) मा समेत काम गरेका छन् ।
त्यस्तै एपेक्स कलेज, राजधानी कलेज, इम्पेरियल कलेज, सायम कलेज, विजनेश नेपालमा व्यापार वातावरण, अन्तर्राष्ट्रिय व्यापार र उद्यमशीलता विषय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) पर्यटन नीति तथा योजना विषय अध्यापन सेमत गरे ।
ओझाले व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषण जस्ता विषयमा विशेषज्ञता हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्