Skip to content

स्वास्थ्य बीमाका लागि सुरक्षित कोष बनाउन आवश्यक : मन्त्री पौडेल

nabil bank

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिलेको अवस्थाबारे स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न समस्या रहेको बताएका छन् । आज बसुन्धारामा रहेको महेन्द्रनारायण निधि अस्पतालको पुनःसेवा शुभारम्भ गर्दैै उनले अहिलेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमलाई सञ्चालन गर्ने हो भने राज्यले थेक्न नसक्ने भन्दै बिमा कार्यक्रमलाई पुनः संरचना गर्न आवश्यक रहेको बताएका हुन् ।

विसं २०८० असारमा बन्द भएको अस्पताल नयाँ व्यवस्थापनमा पुनःसञ्चालन आएको हो । मन्त्री पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरे मात्र सबै नागरिकको उपचार सम्भव हुने बताए । उनले आफूले स्वास्थ्य बीमा चल्दैन भनेको नभई अहिलेको प्रणालीबाट सञ्चालन गर्न समस्या हुने मात्र बताएको बताए । ‘मैले बिमा चल्दैन भनेको होइन । अहिलेकै अवस्थामा बिमालाई चलाउने हो भने राज्यले थेक्न सक्दैन’, मन्त्री पौडेलले भने, ‘नागरिक आधारित बीमा बनाउनुपर्दछ । अहिलेको बीमाबाट सबैको उपचार गर्न असम्भव छ ।’ उनले स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक रहेको बताए ।

मन्त्री पौडेलले बीमा सञ्चालन गर्नका लागि नियमित आम्दानी हुने सुरक्षित कोष बनाउनुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता स्वास्थ्यका कार्यक्रमलाई स्वास्थ्य बिमामा गाभ्नुपर्ने बताए । उनले कर्मचारी, कर तिर्ने मानिसको र बिमा गरेवापत सङ्कलन भएको रकमले बीमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले राष्ट्रिय परिचयपत्र, राहदानी लिँदा अनिवार्य स्वास्थ्य बिमा गरेको हुनुपर्ने बताए । उनले प्रमाणीकरण भइसकेका मिर्गौला र पार्किन्सन रोगका लागि पाँच लाखसम्मको उपचारको व्यवस्था बिमा कार्यक्रमबाट गरिन थालेको जानकारी दिए । मन्त्री पौडेलले अस्पतालको नाम महेन्द्रनारायण निधिसँग जोडिएकोले छुट्टै सन्देश हुने भन्दै अस्पताल समितिसँग सहकार्य गर्ने बताए । उनले महेन्द्रनारायण निधिले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडेको र कुनै स्वार्थमा नविकेको व्यक्ति भएको बताए ।

कार्यक्रमममा नेपाली काङ्ग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अस्पताल सञ्चालनमा कतिपय कठिनाई भएको पनि पुनः नयाँ व्यवस्थापनमा अस्पताल सञ्चालन आएको खुशी व्यक्त गरे । अस्पतालका निर्देशक डा.विनोद अर्यालले अस्पताललाई क्यान्सर अस्पतालको रूपमा विकास गर्नका लागि पुनः अस्पताल सञ्चालन गरिएको बताए । उनले मधेश र पहाडलाई जोड्ने सेतुको रूपमा अस्पताल रहने जानकारी गराए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रेम थापाले आफ्नो वडामा २६ वटा सरकारी र नीजि अस्पताल सञ्चालन रहेको भन्दै पुनः सञ्चालनमा आएको यस अस्पतालले बिरामीलाई राम्रो सेवा दिनुपर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime