काठमाडौं । सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये हालसम्मा ११ वटा कम्पनीले मात्रै आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका १४/१४ वटा जीवन र निर्जीवन बीमा कम्पनीमध्ये हालसम्मा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश ११ वटा कम्पनीले मात्रै घोषणा गरेका हुन् ।
हालसम्म ६ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने जीवनब बीमा कम्पनीहरुमा सानिमा सिटिजन लाइफ, रिलायन्स लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स छन् । त्यस्तै लाभांघ घोषणा गरेका निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन् ।
लाभांश घोषणा गरेको केही कम्पनीले आफ्ना सेधयधनीको खातामा लाभांश पठाइसकेका छन् । लाभांश घोषणा गरेका बीमा कम्पनीमध्ये जीवन बीमातर्फ सिटिजन लाइफले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ भने निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियरले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स
आफ्ना सेयरधनीहरुलाई सूर्यज्योति लाइफले २० प्रतिशत लाभांश वितरण गरेको छ । यो कम्पनीले साधारणसभा सम्पन्न गरेर उक्त लाभांश सेयरधनीको खातामा जम्मा समेत गरिसकेको छ । कम्पनीको उक्त २० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्सले पनि आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश वितरण गरिसकेको छ । यो कम्पनीले माघ २८ गते नै साधारणसभा सम्पन्न गरेर लाभांश पस्ताव पारित गरि सम्बन्धित सेयधनीको खातामा लाभांश जम्मा गरिसकेको छ । यो कम्पनीले आफ्ना सेयधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । जसमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ११.०५ प्रतिशत नगदा लाभांश रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पनि लाभांश घोषणा गर्ने कम्पनीमध्ये एक हो । यो कम्पनीले फागुन ११ गते घोषणा गरेको १४ प्रतिशत लाभांश साधारणसभाबाट पारितसमेत गरिसकेको छ । सभाले कम्पनीको चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर (करसहित) वितरणको प्रस्ताव पारित गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । यो कम्पनीले उक्त लाभांश पारित गर्ने सहितका एजेण्डा पारित गर्नका लागि फागुन २५ गते साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । फागुन १४ गते महाशिभरात्रीको सार्वजनिक बिदा परेकाले फागुन १३ गतेसम्म कायम सेयरधीले सभामा भाग लिनुका साथै लाभांश पाउने छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स
सानिमा रिलायन्स लाइफले आफ्ना सेयधनीहरुलाई ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यो कम्पनीको वार्षिक साधारणसभाको मिति भने घोषणा भएको छैन् । उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएर साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।
सिटिजन लाइफ इन्स्योरेन्स
लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश दिने कम्पनी हो सिटिजन लाइफ इन्स्योरेन्स । यो कम्पनीले आफ्ना सेयधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश रहेको छ । यो कम्पनीले पनि साधारणसभाको मिति घोषणा गरेको छैन ।
शिखर इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन् ।
कम्पनीले उक्त लाभांश फागनु १३ गतेको साधारणसभाबाट पारितसमेत भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको छ । कम्पनीले आफ्नो ३१ औँ वार्षिक साधारणसभा यही फागुन २७ गते आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीहरुले पाउनेछन् ।
कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्दैछ । यसका आधारमा आज फागुन १४ गते महाशिभरात्रीको अवसरमा सार्वजनिक बिदा परेकाले हिजो फागुन १३ गतेसम्म कायम सेयरधीले सभामा भाग लिनुका साथै लाभांश पाउन योग्य हुनेछन् ।
सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी
कम्पनीले हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ दिने निर्णय गरेको हो । साधारणसभाको मिति तय भएको छैन ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स
यो कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ। कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिने छ । कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा आउँदो फागुन २५ गतेका लागि आह्वान गरेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ फागुन ११ गते बुक क्लोज गरिसकेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
निर्जीवन बीमा कम्पनीहरुमध्ये सबै भन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हो। यो कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नगदमा वितरण गर्ने कम्पनीले निर्णय गरको छ । उक्त लाभांश सहितका प्रस्तावहरु पारित गर्नका लागि कम्पनीले भोलि (फागनु १५ गते) साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश र साधारणसभामा उपस्थितका लागि फागुन २ गते बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्