काठमाडौं । सह सचिव मदन दाहालले नेपाल बीमा प्राधिकरणमा दुई महिनाको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल निलम्बित भएपछि दाहाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्न आएका थिए । उनले आफ्नो दुई महिनाको अवधिमा गरेका कामहरु सार्वजनिक गरेका छन् ।
यस अवधिमा अध्यक्ष दाहालले लामो समयदेखि रोकीएर रहेको बीमा नियमावली २०८१ लाई मन्त्रिपरिषदबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन गराउन सफल भएका छन् । त्यस्तै अध्यक्ष दाहालले बीमा ऐन, २०७९ को दफा २० को उपदफा ६ को व्यवस्था कार्यान्वयनको लागि प्राधिकरणको तरलता व्यवस्थापन समेतलाई ध्यानमा राखी ऐनमा व्यवस्था भएबमोजिमको रकम क्रमशः संघीय संचित कोषमा दाखिला गर्ने कार्य अगाडि बढाए ।
सार्वजनिक गरिएको उपलब्धीमा दाहालले नेपाल बीमा प्राधिकरण सेवामा रिक्त रहेका विशिष्ट श्रेणी, कार्यकारी निर्देशक, प्रथम श्रेणी निर्देशक र द्वितिय श्रेणी, उपनिर्देशक पदहरुको कार्यक्षमता मूल्यांकनतर्फको पदपूर्ति कार्य सम्पन्न गर्न सफल गर्न पनि बताएका छन् । दाहालको कार्यकालमा संचालक समितिको बैठकमा पेस भएको ७१ वटा उजुरीहरुमध्ये ३३ फैसला र ३८ वटा आदेश भएको र सहमति र मध्यस्थताबाट ४ वटा उजुरी किनारा लागेको उल्लेख गरिएको छ ।
बीमकले बीमा दाबी निवेदन प्राप्तभएपश्चात सोको दर्ता गरी यथाशीघ्र बीमितलाई एसएमएसमार्फत जानकारी गराउनुपर्ने, निर्जीवन बीमाको क्षति मूल्यांकन गर्न सर्भेयर खटाउँदा सोको जानकारी एसएमएसमार्फत बीमितलाई गराउनुपर्ने, जीवन बीमकले दावी भुक्तानीवापत बीमित वा हकवालालाई कानून बमोजिम भुक्तानी गर्नुपर्ने रकम बिमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बीमालेख जारी गरी रकम समायोजन गर्न नपाउने सम्बन्धमा बीमकहरुलाई निर्देशन दिने कार्य उनको कार्यकालमा भएका छन् ।
प्रतिक्रिया दिनुहोस्