काठमाडौं । पछिल्लो समय सरल र सहज बैंकिङ कारोबारले मानिसको जीवन यापनलाई सहज बनाइरहेको छ । कुनै समय थियो आफूलाई आवश्यक पर्ने रकम बोकेरै जानुपर्ने । त्यसपछि चेकबाट कारोबार हुने भयो । एटिएम कार्ड आए पछि रकम बोक्नुको साटो कार्ड बोक्न थालियो । अहिले मोबाइल बैंकिङले गर्दा सबै काम मोबाइलबाट नै हुन्छ । बैंकहरूले आफ्ना ग्राहकहरूलाई क्रेडिट कार्ड पनि दिएका हुन्छ । जसमा बैंकले लिमिट तोकेर कार्ड दिएको हुन्छ । अहिले त्यो कार्ड पनि भर्चुअल अर्थात् मोबाइलबाट नै चलाउन सकिने भएको छ । नेपालमा यस्तो भर्चुअल कार्ड प्रयोगकमा ल्याउने पहिलो बैंक हो सिटिजन्स बैंक । यो कार्डको विशेषता र उपलब्धताका विषयमा लगानी न्युजका महेन्द्र शाहीले बैंकका हेड क्रेडिट कार्ड एकाइ प्रमुख समिर अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
क्रेडिट कार्ड भनेको के हो ? यसलाई कसरी प्रयोग गर्ने ?
क्रेडिट भनेको एक किसिमको लोन नै हो । त्यसैले क्रेडिट कार्ड भनेको एक किसिमको लोन नै भयो । जुन एउटा कार्डमार्फत हुने भयो । यो आम मानिसको जीवनलाई सहज बनाउनका लागि लगिने सानो प्रकारको लोन नै भयो । लोन कसरी दिने भन्दा कार्डका माध्यमबाट दिइन्छ ।उपभोक्तालाई हामीहरूले एउटा कार्ड दिइसके पछि त्यसको एउटा लिमिट हुन्छ । हाम्रोमा मासिक २० हजारदेखि साढे २ लाखसम्मको लिमिट रहेको छ । त्यसमा ग्राहकको आवश्यकता र मागअनुसार हामीहरूले लिमिट दिन्छौँ । त्यो मासिक हुन्छ । बैंकले मासिक रूपमा जुन लिमिट दिएको छ त्यसलाई उहाँहरूले खर्च गर्न सक्नुहुन्छ ।
यो कार्डको प्रयोग मुख्य गरी किनमेलका लागि मात्रै हुन्छ । यसबाट नगद निकाल्न सकिँदैन । दैनिक रूपमा आवश्यक पर्ने सामान खरिद गर्नका लागि यसको प्रयोग ज्यादा हुन्छ । मासिक लिमिट दिएकाले महिनाभरमा खर्च गरेरको रकमको ग्राहकलाई स्टेटमेन्ट पठाइन्छ । त्यसमा जति खर्च भएको छ त्यो तिर्नका लागि १५ दिनको समय बैंकले दिन्छ । यसरी हेर्दा ४५ दिनसम्म कुनै पनि ब्याज नतिरेर रकम खर्च गर्न सकिन्छ । ४५ दिनपछि भने चलाएको रकमको आधारमा ब्याज तिर्नुपर्ने हुन्छ । त्यो तिर्नका लागि पनि बैंकले सहजता दिएको छ । जति चलाएको छ त्यसको सतप्रतिशत तिर्ने वा १० प्रतिशत तिर्ने भन्ने विकल्प पनि हुन्छ ।
४५ दिनसम्म आफूले प्रयोग गरेको रकम बुझाएको खण्डमा कुनै अतिरिक्त शुल्क लाग्दैन भन्नुभयो । यो सञ्चालन गर्दा बैंकलाई के फाइदा हुन्छ ? यो कार्ड सेवा मात्रै हो कि व्यवसाय पनि हो ?
क्रेडिटकार्ड यस्तो उत्पादन हो कि यसले बैंकमा ग्राहको सहभागितालाई पनि बढाउँछ । क्रेडिट कार्ड मात्रै लिने नभएर बैंकमा खाता खोल्नु हुन्छ र मोबाइल बैंकिङ पनि लिनुहुन्छ । हाम्रो बैंकसँग कारोबार पनि गर्नु हुन्छ । भोलिको दिनमा त्यो क्रेडिट कार्डले मात्रै पुग्दैन र अरू लोन पनि उहाँहरूले लिनुहुन्छ ।
त्यसैले क्रेडिट कार्ड ग्राहकलाई जोड्ने प्रोडक भयो । र, सँगसँगै हामीले त्यो कार्डमा इएमआई सुविधा दिएका हुन्छौं । अलि धेरै मूल्यको सामान किनेर लैजान पनि सक्नु हुन्छ । त्यसमा बैंकले थोरै ब्याज पनि लिन्छ । ४५ दिनमा पूरै भुक्तानी गर्दा मात्रै सित्तैमा हुने हो । सबै सतप्रतिशत तिर्छु भन्ने ग्राहकहरू पनि नहुन सक्नुहुन्छ । विस्तारै तिर्छुभन्दा त्यसमा २ प्रतिशत ब्याज लिइन्छ । सतप्रतिशत तिर्दा कुनै शुल्क लागेन । तर, कसैले लिमिटको २० प्रतिशत मात्रै तिर्छु र विस्तारै तिर्छुभन्दा बैंकले त्यसमा ब्याज लगाउँछ ।
क्रेडिट कार्ड भनेको सानोसानो रकमका लागि कसैसँग मागिराख्न नपरोस् भन्नका लागि पनि हो । ४०÷५० हजार रुपैयाँ आवश्यक पर्दा व्यक्तिसँग माग्नेभन्दा पनि बैंकको कार्डमार्फत प्रयोग गर्दा सहज पनि हुन्छ । ४५ दिनसम्म बिना ब्याज र बिनाधितो बैंकिङ प्रणालीबाट यो रकम प्रयोग गर्न पाइने भयो । यदि ४५ दिन कटेपछि लाग्ने २ प्रतिशत ब्याज पनि फल्याटमा लाग्दैन त्यो कोल्याटर बेसमा लाग्ने हो । यदि आज तिर्नुपर्ने थियो र तिर्न सकिएन र १५ दिनपछि तिरियो भने १५ दिनमो मात्रै ब्याज लाग्छ ।
प्रयोग गर्नका लागि पनि सजिलो र सुरक्षित पनि हुने भयो । विदेशमा क्रेडिट कार्ड नभएको व्यक्ति नै हुँदैन । नेपालमा भने केही कम छ । नेपालमा अहिले राष्ट्र बैंकको तथ्यांकअनुसार करिब ३ लाख क्रेडिट कार्ड प्रयोगकर्ता रहेका छन् । यो भनेको हरेक १०० जनामा २ जनाले मात्रै क्रेडिट कार्ड प्रयोग गर्छन् । यस्तो हुनुको कारण बैंकहरूले कार्डलाई आम मानिसमा लैजान नसक्नु वा यो विषयमा जानकारी नहुने पनि हुन सक्छ । अझ भनौ कार्ड प्रयोग गर्ने मेसिनको उपलब्धताको कमीले गर्दा पनि नेपालमा क्रेडिट कार्डको प्रयोग कम भएको हुन सक्छ ।
मुख्य सहरी क्षेत्रमा मेसिन उपलब्ध भए पनि गाउँहरूमा त्यो छैन । सहरमा पनि ठूलाठूला स्टोरहरूमा मात्रै हो । ग्रामीण भेग धेरै भएकाले पनि कार्डको प्रयोग कम भएको हुन सक्छ ।
सिटिजन्स बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरू कति छन् र यो भर्चुअल क्रेडिट कार्ड के हो ?
यसैलाई मध्यनजर गरेर सिटिजन्स बैंकले अलि फरक रूपमा कार्डलाई परिभाषित गरेर अघि बढेको छ । हामीले अहिले भर्चुअल क्रेडिट कार्ड प्रयोगमा ल्याएका छौं । हामीसँगै अहिले क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या १० हजारको हाराहरीमा छ । जुन जम्मा प्रयोगकर्ताको हामी १० प्रतिशतको हिस्सा हौं । हामीसँग ग्राहकको संख्या भनेको १८ लाख हो । १८ लाख ग्राहकमा कार्ड प्रयोग गर्ने जम्मा १० हजार हुनु भनेको कित हामीले ग्राहकले सोचेअनुसार काम गर्न नसकेको हुन सक्छ वा ग्राहकको इच्छा पनि नहुन सक्छ ।
यो कुरालाई नै मध्यनजर गरेर हामीहरूले अहिले भर्चुअल क्रेडिट कार्डको व्यवस्था गरेका छौं । यो नेपालमा लन्च गर्ने सिटिजन्स बैंक पहिलो हो । यो मार्केटमा उपलब्ध पनि रहेको छ । यो कार्डले ग्राहकलाई कसरी सहज बनाउँछभन्दा पहिलाको कार्डका लागि आवेदन दिनुपर्योे, त्यसलाई निर्माण गरेर ग्राहकसम्म पुर्याउनुपर्ने अवस्था थियो । त्यसका लागि समय पनि धेरै लाग्ने र प्रक्रिया पनि लामो हुने हुन्थ्यो । तर, भर्चुअल कार्ड कुनै प्रिन्ट नै नगरेर मोबाइल बैंकिङमा नै कार्ड भिजिबल गराइन्छ ।
ग्राहकले त्यो क्रेडिट कार्डबाट नेपाल भरका फोन पे क्युआरमा क्युआर गरेर चलाउन सकिने भयो । पहिला क्रेडिट कार्ड चलाउनका लागि पस मेसिन चाहिन्थ्यो र स्वाइप गर्नै पर्ने अवस्था थियो । त्यसका लागि मेसिन हुनु अनिवार्य थियो । फरक बैंकको स्वाइप मेसिन प्रयोग गर्दा केही चार्ज काटिने भएकाले पनि प्रयोगकर्ताहरूले स्वाइप गर्नका लागि पनि नमान्य अवस्था छ । सबै बैंकले त्यो मेसिन राख्न सक्ने अवस्था पनि छैन ।तर, भर्चुअल कार्डबाट उहाँहरूले क्युआर गरेर रकम भुक्तानी गर्न सक्नुहुने भयो । जसका लागि मेसिनको आवश्यकता पनि परेन । अनि अहिले मोबाइल सबैसँग हुने भएकाले अझै सजिलो पनि हुने भयो ।
फोन पेको नेटर्वक धेरै भएकाले अहिले हामीहरूले समन्वय गरेको अवस्था छ । हाम्रोबाट हुम्ला, जुम्लाका ग्राहकहरूले पनि यो कार्ड लिइरहेको अवस्था छ । उपलब्धताका कारणले नै फोन पेसँग सहकार्य गरेका छौं । दुर्गमबाट पनि यो कार्ड लिइरहेका छन् । यसले गर्दा वित्तीय साक्षरतामा पनि सहयोग पुग्छ ।
क्रेडिट कार्ड प्रयोगकर्ताले के-के कुरामा ध्यान दिनुपर्छ ?
फिजिल कार्डमा बोकेर हिँड्नुपर्छ । त्यसमा हरेकपटक स्याइप गर्दा पिन हान्नुपर्छ । पिन सुरक्षित राख्ने काम ग्राहकको हो । तर, कहिलेकाहीँ भने यसको मिसयुज पनि हुन्छ सक्छ । कहिले हराउने पनि हुन सक्छ । कार्ड प्रयोग गर्ने समयमा नभेटिन पनि सक्छ । भुक्तानी गर्नुपर्ने ठाउँमा मेसिन नचल्न पनि सक्छ । क्रेडिटकार्ड भए पनि ढुक्क हुने अवस्था नहुने भयो ।
भर्चुअल कार्डको कुरा गर्दा यो मोबाइल बैंकिङमा हुने र क्युआर गर्नुपर्ने भएकाले सुरक्षा तथा उपलब्धताका हिसाबले पनि सहज छ । मानिसहरूसँग स्मार्टफोन नै छ । जुन फोनमा विभिन्न पासवर्डहरू प्रयाग गरेर सुरक्षाका उपायहरू राखिएको हुन्छ । कुनै पनि मोबाइल खोल्नकै लागि नै एक लेयरको सुरक्षा छ । मोबाइल खोलेपछि त्यसमा मोबाइल बैंकिङ खोल्नका लागि पनि अर्को सुरक्षाको तह पार गर्नुपर्छ । भनौं, त्यहाँ पनि पिनहरू राखिएको हुन्छ । त्यहाँ लगिन गर्नुपर्छ । त्यसपछि रकम भुक्तानी गर्नका लागि पनि फेरि अर्को पासर्वड राख्नुपर्ने हुन्छ । यसले गर्दा सुरक्षाका हिसावले यो निकै सुरक्षित छ । फिजिकल कार्ड हराउँदा जुन रूपमा दुरुपयोग हुने सम्भावना रहन्छ । भर्चुअल कार्ड मोबाइल हराउँदा पनि प्रयोग गर्ने सम्भावना निकै कम छ । सफ्टवयरका रूपमा पनि यो निकै सुरक्षित र विश्वासीलो कम्पनीसँग निर्माण गरिएको हो ।
क्रेडिट कार्ड प्रयोग गरेबापत के कति सेवा शुल्क तिर्नुपर्छ ?
बैंकले जुनसुकै प्रोडक ल्याउँदा त्यसमा बैंकको केही कस्ट परेको हुन्छ । भर्चुअल क्रेडिट कार्डमा बैंकले थोरै मात्रै चार्ज लिएको अवस्था छ । एभरेजमा क्रेडिट कार्डको चार्जमा भन्दा कम शुल्क रहेको छ । सुरुमा कार्डको ईस्यु गर्दा ५०० रुपैयाँ लाग्छ । त्यसपछि हरेक वर्ष नवीरण शुल्क भनेर थप ५०० रुपैयाँ लाग्छ । त्योभन्दा अरू शुल्क लाग्दैन । यसरीभन्दा वार्षिक रूपमा ५०० रुपैयाँमा यो कार्ड लिन सकिने भयो । त्योभन्दा बाहेक ४५ दिनसम्मा बैंकले दिएको लिमिटको रकम चलाउँदा कुनै शुल्क लाग्दैन भने त्योभन्दा पछिको समयमा भने २ प्रतिशत मासिक ब्याज तिर्नुपर्छ ।
यो नयाँ प्रोडक भएकाले हामीले यसबाट धेरै रकम उठाउने भन्ने पनि हुँदैन । यस्ता सेवा भनेको ग्राहकलाई बैंसँग आबद्ध गराउनमा सहयोग पुर्याउने भएकाले यसमा बैंकले धेरै ठूलो नाफा सोचेको हुँदैन । योसँगै अन्य सेवा प्रयाग गर्छन् भनेर पनि यो लाइन्छ ।
धेरै खर्च गर्दा सुविधा थपिने भनेर बैंकहरूले लोभ्याउने र ग्राहकको खर्च बढाउँछन् भनेर पनि भनिन्छ । तपाईंले अघि फाइदाभन्दा पनि सेवा हो भन्नु भयो । यो अवस्थामा यसलाई कसरी सेवा भन्ने ?
यो विषयमा मेरो व्यक्तिगत धारणाभन्दा नेपालमा क्रेडिट कार्ड अलिकत्ति मिस सेलिङ पनि छ । बैंकहरूले कार्ड दिने तर त्यो विषयमा उपभोक्ताले बुझेकै हुँदैन । यो कसरी चलाउने, यसको स्टेटमेन्ट कहिले आउँछ । ड्यु डेट के हो ? यो समयमा तिरिएन भने यसको असर के हुन्छ भन्ने विषयमा बुझ्न जरुरी छ । यो अलिकति प्राविधिक पनि हो । यसमा ध्यान दिएर चलाउने हो भने यसमा कुनै अतिरिक्त चार्ज तिर्नुपर्दैन । त्यसबाट बैंकलाई आम्दानी पनि हुँदैन । तर, उपभोक्ताले नै अलिकति ध्यान नदिने वा यो प्रोडकको विषयमा राम्रोसँग जानकारी नलिएको खण्डमा समस्या हुन सक्छ । बैंकले पनि आफ्नो ग्राहकलाई कार्डको विषयमा पूरा बुझाएर त्यो प्रयोग गर्नका लागि भन्नुपर्ने हुन्छ ।
सबैको बानी इमेल हेर्ने त्यसमा आएको स्टेटमेन्ट हेरेर त्योअनुसार जानकारी नराख्ने गर्नाले पनि यो तपाईंले भनेको जस्तो भएको होला । खर्च भएको रकमको विवरण र तिर्नुपर्ने समय तोकेर मेलमा आएको हुन्छ । त्यसमा प्रयोग कर्ता चनाखो हुनुपर्ने देखिन्छ । मेलमा आएको विषयमा उहाँहरू जानकारी नभएर समयमा तिर्नुपर्ने रकम नतिर्दा यस्तो समस्या आउँछ ।
प्राविधिक रूपमा केहीलेकाहीँ जानकारी नजान पनि सक्छ । त्यो विषयमा पनि प्रयोगकर्ताहरू चनाखो हुनुपर्ने हुन्छ । यस्ता कुरामा ख्याल गरिएन भने हरेक महिना ब्याज आउने कारणले गर्दा त्यस्तो भएको हो । बैंकले अन्य शुल्क केही पनि लिँदैनन् । बढ्दै गएर धेरै हुने अवस्था हो । यस्तो पनि समस्या नहोस् भनेर हामीहरूले अहिले भर्चुअल कार्ड ल्याएका छौं । जसमा आफ्नो मोबाइलमा नै यो विषयमा प्रष्ट रूपमा जानकारी लिन सकिन्छ । आफूले गरेको खर्चको जानकारी मोबाइलमा नै हेर्न पाइने भयो । भर्चुअल कार्डमा भने बैंकले स्टेटमेन्ट पठाएपछि मात्रै जानकारी पाइन्थ्यो ।
हरेक पटक मोबाइल बैंकिङमा हेर्दा पनि यो विषयमा जानकारी पाउन सहज हुने भयो । हामीले आम्दानी र खर्चको व्यवस्थापन गर्नका लागि पनि निकै सहज कुरा हो । हामीले हप्ता दिनको खर्चको हिसाब गरेर पनि यो कार्ड लिन सकिन्छ । यसले मैले कुन शीर्षकमा कति खर्च गर्दो रहेछु भनेर विश्लेषण गर्नमा पनि भर्चुअल कार्डले सहयोग गर्छ ।
बैंकले अतिरिक्त चार्जका लागि यो कार्ड बेचेको हुँदैन । तर, बैंक र ग्राहकबीचको मिस कम्युनिकेसनले यस्तो अवस्था आउन सक्ला । यसमा उपभोक्ताहरू नै सजक हुनुपर्छ । सबै कार्यालयबाट यो सेवा दिएका छौं । इमेल तथा फोनबाट पनि यो विषयमा जानकारी लिन सकिन्छ ।
कार्ड प्रयोग गर्नका लागि आवश्यक पर्ने पूर्वाधारहरू हाम्रो नेपालमा पर्याप्त छन् ?
पुरानो भौतिक कार्ड कम जानुमा हाम्रो पूर्वाधारको पनि कमी हो । सहरका ठूला स्टोरहरूमा बाहेक अन्य ठाउँहरूका कार्ड प्रयोग गर्नका लागि आवश्यक पर्ने पस मेसिन छैनन् । यो मेसिन फेरि महँगो पनि हुन्छ । जसले गर्दा बैंकहरूले त्यो मेसिन उपलब्ध गराउन पनि सकेका छैनन् । अन्य बैंकको मेसिन प्रयोग गर्दा केही कमिसन पनि लाग्छ ।
भाटभटेनिमा मेसिन भए पनि सामान्य किराना पसलहरूमा यो मेसिनको उपलब्धता हुँदैन् । जसले गर्दा पनि कार्ड प्रयोग गर्ने प्रयोगकर्ता कम छन् । महिनाको १ लाख लिमिटका कार्ड लिए पनि खर्च जम्मा १० हजार मात्रै हुने अवस्था पनि आउँछ । त्यो भनेको हाम्रो कार्ड प्रयोग गर्ने मेसिनको उपलब्धता कम हुनु हो ।
बैंकले १ लाख दिनु भनेको एक लाख नै प्रयोग गर्नु भन्ने हो । तर, खर्च १० हजार मात्रै हुँदा कार्ड त गयो तर त्यसको प्रयोग कम भयो । त्यसलाई कसरी बढाउने तभन्दा भर्चुअल कार्ड भयो भने क्युआरमार्फत भुक्तानी गर्न सकिने कारणले गर्दा सिटिजन बैंकले त्यो कार्ड बजारमा ल्याएको हो । केही प्राविधिक कुराले गर्दा पुरानो कार्डको प्रयोग कम भएको थियो । अब भने त्यस्तो नहुने अवस्था छ ।
कुनै व्यक्तिले १ लाख रुपैयाँको लिमिट लियो । तर, उसले एक महिनामा ४० हजार रुपैयाँ मात्रै खर्च गर्याे । अब उसले महिनाको अन्तिममा बैंकमा कति रकम तिर्नुपर्छ ?
बैंकले कुनै पनि व्यक्तिको आम्दानीको आधारमा उसलाई लिमिट दिने हो । त्यो लिमिटमा कति चलाउने भन्ने कुरा उपभोक्तामा नै निर्भर हुने भयो । ड्यु डेटमा तपाईंले खर्च गरेको रकम र खर्च भएको शीर्षक नै आउँछ । त्यसैको आधारमा त्यसको १५ दिनभित्र जति रकम खर्च गरेको हो त्यो मात्रै तिर्नुपर्छ । यदि १ लाखको लिमिट लिएको ग्राहकले महिनामा १० हजार मात्रै खर्च गरेको छ भने उसले त्यो १० हजार मात्रै तिरे पुग्छ । र, अर्को महिनाका लागि उसँग फेरि १ लाख रुपैयाँकै लिमिट कामय हुन्छ । अर्को महिना यदि ४० हजार खर्च भएको छ भने त्यति नै तिर्नु पर्यो । यदि १ लाख रुपैयाँ नै खर्च भयो भने १ लाख नै तिर्नुपर्छ ।
बैंकले यदि कसैको तलब ५० हजार रुपैयाँ छ भने उसलाई ७५ लाख रुपैयाँसम्मको लिमिट दिन्छ । बैंकले आम्दानीको १.५ प्रतिशत लिमिट दिन्छ । महिनामा आएको ५० हजार तलबमा ऋण तिर्नुपर्ने होला । अन्य खर्चहरू पनि होला । बच्चाको विद्यालयको शुल्क पनि तिर्नुपर्ने होला । त्यसो गर्दा तलब आएको एक हप्ता दिनमा तपाईंको तलब सकिने अवस्था हुन्छ ।
भर्चुअल कार्डले तलबभन्दा बाहेकको रकम बैंकले दिएको हुन्छ त्यसले पनि मानिसलाई केही सहज बनाउने भयो । आवश्यक पर्ने सामान किन्नका लागि पनि हुने भने । अर्को महिना तलब आउँदा १० प्रतिशत तिर्छु भनेर बाँकी विस्तारै तिर्न पनि सकिने भयो । अर्कोतर्फ मासिक रूपमा आउने तलब नचलाउने र कार्डबाट मात्रै खर्च गर्दै जाने हो भने पनि सहज हुन्छ । तलब आएको रकममा केही प्रतिशत ब्याज पनि आउँछ यता बीना ब्याजमा रकम चलाउन पाइने भयो । अनि समय पुगेपछि आफ्नो खाताको पैसाले त्यो तिर्दा हुन्छ ।
कार्ड लिएको कुनै व्यक्तिले तोकेको समयमा रकम भुक्तानी गरेन भने के हुन्छ ?
कोही ग्राहकले कार्ड लिएर चलाउनुभयो र सम्पर्कमा नै आउनुभएन भने पहिलो महिना नतिर्दा त्यसमा ब्याज जोडिन्छ । लेट चार्ज पनि लाग्छ । अर्को महिना पनि उनले तिर्नुभएन र सम्पर्कमा नआएको खण्डमा बैंकले उहाँलाई फ्लोअप गर्छ । त्यसपछि पनि उहाँहरू सम्पर्कमा नआएको खण्डमा नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार नै ९० दिन पुगेपछि सतप्रतिशत प्रोभिजनमा जान्छ ।
तीन महिनासम्म पनि ग्राहक सम्पर्कमा नआएको खण्डमा चौथो महिना नै हामीहरूले रिकभरि एक्सन लिइहाल्नुपर्छ । यो एकदमै सेन्सेटिभ प्रोडक पनि हो । बैंकले यसमा व्यक्तिलाई उसको आम्दानीअनुसार लिमिट दिने हो । यसमा कुनै पनि ग्यारेन्टि, धितो केही पनि राख्दै नौ । क्याल्याटर फ्रि लोन हो । जसले गर्दा बैंकलाई रिक्स पनि छ । नतिर्ने समस्या आउलाका भन्ने जोखिम पनि हुन्छ ।
बैंकले क्रेडिट कार्ड दिँदा ग्राहकको खाता खोलेको हुन्छ । यदि उसले कार्डको रकम नदिएको अवस्था बैंकले उसको खातामा पैसा छ भने त्यसबाट भर्पाइ गर्न सकिन्छ ?
त्यो सक्छ । तर, त्यसका लागि भने ९० दिन कुर्नुपर्ने हुन्छ । ९० दिनसम्म पनि नतिरेको अवस्थामा ग्राहकको खातामा रकम छ भने त्यसबाट पनि पूर्ति गर्न सकिन्छ । जुनसुकै लोनमा पनि खातामा रकम भएको अवस्थामा त्यसबाट पनि असुल गर्न सकिन्छ । खातामा पैसा पनि छैन र रकम पनि तिरेको छैन भने त्यस्तो अवस्थामा भने बैंकले रिकभरि एक्सनमा जानै पर्छ । वित्तीय अनुशासन कायम गर्न भने सबैले जरुरी हुन्छ । रकम नतिर्दा ग्राहकलाई समस्या पर्छ । सावधानी अपनाएर चलाएको खण्डमा यसबाट धेरै फाइदा पनि छ ।
प्रतिक्रिया दिनुहोस्