वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा ८ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।
गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै ४अर्ब ९१ करोड रुपैयाँ मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । ‘गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।’
कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको सात महिनामा यो नाका हुँदै १ अर्ब ३५ करोड रुपैयाँ मूल्यको एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएको छ ।
जबकि गत आवको सोही अवधिमा भने १ अर्ब ६ करोड रुपैयाँको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो । चालु आवको सात महिनामा २ अर्ब ९६ करोड रुपैयाँ मूल्यको ५ करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएको छ ।
जबकि गत आवको सोही अवधिमा भने २ अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार नौ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्