एजेन्सी । अमेरिकाको स्टक फ्युचर्समा मंगलबार गिरावट देखियो । जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा भारी ट्यारिफ लगाउने आफ्नो पूर्ववत् धम्की कार्यान्वयनमा ल्याए । प्रि–मार्केट कारोबारमा डाउ फ्युचर्स करिब १५० अंकले घट्यो । जबकि एसएन्डपी ५०० र नास्डाक १०० सँग सम्बन्धित फ्युचर्स दुवै करिब ०.७ प्रतिशतले ओरालो लागे ।
अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात गरिने सामानमा २५ प्रतिशत ट्यारिफ लगाएको छ । साथै चिनियाँ सामानहरूमा थप १० प्रतिशत ट्यारिफ लगाइएको छ । जसले गर्दा त्यो चीनबाट आयात हुने सामानमा अब २० प्रतिशत ट्यारिफ लाग्नेछ ।
ट्रम्प प्रशासनका अनुसार, व्यापक ट्यारिफहरू लागू गर्नुको उद्देश्य संयुक्त राज्य अमेरिका भित्र लागूऔषधको प्रवेश रोक्नु हो । तर, ट्यारिफले अमेरिकी उपभोक्ताहरूका दैनिक उपभोग्य वस्तुहरूमा असर पु¥याएमा अमेरिकी आर्थिक वृद्धिमा असर पर्ने चिन्ता पनि छ । महँगीबाट ग्रस्त उपभोक्ताहरूले पहिले नै आफ्नो खर्च कटौती गर्न थालेका छन् । किनभने महंगीले जागिर कटौती बढ्दैछ । उपभोक्ता विश्वास कमजोर भइरहेको छ । साथै मुद्रास्फीति अझै पनि फेडेरल रिजर्भको २ प्रतिशत लक्ष्यभन्दा माथि छ ।
चीनले मंगलबार जवाफी प्रतिक्रिया दिँदै अमेरिकी कुखुरा, सुँगुरको मासु, गाईको मासु, र केही कृषि वस्तुहरूमा ट्यारिफ लगाउने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्यारिफ लागू हुने केही घण्टा अघि घोषणा गरे कि ओटावाले अमेरिकी सामानहरूमा अर्बौं डलर बराबरको ट्यारिफ लगाउनेछ ।
जबकि ट्रम्पले लामो समयदेखि अमेरिकाका व्यापारिक साझेदारहरूमा कडा ट्यारिफ लगाउने संकेत गर्दै आएका थिए । धेरै लगानीकर्ताहरूले ट्यारिफको धम्की वार्ता रणनीति मात्र भएको विश्वास गरेका थिए । तर समयसीमा नजिकिँदै जाँदा, ट्रम्पको कदमले व्यापार युद्ध सुरु गर्ने डरले बजारमा त्रास फैलाएको छ ।
सोमबार वाल स्ट्रिटमा बिक्री गर्नेहरुको दबाब देखिएको छ । डाउ ६५० अंकले घट्यो भने एसएन्डपीले डिसेम्बर यताकै खराब दिन भोग्यो । नास्डाक कम्पोजिट करेक्सन क्षेत्रमा प्रवेश गर्ने अवस्थामा पुग्यो ।
“मंगलबारका ट्यारिफहरू लागु भएका छन्, तर यी ट्यारिफहरू कति समय रहनेछन् भन्ने अझै अनिश्चित छ”, क्यालबे इनभेस्टमेन्ट्सका प्रमुख बजार रणनीतिकार क्लार्क जेरानेनले मंगलबार एक नोटमा लेखेका छन् , “हामी यी ट्यारिफहरू वार्ता रणनीतिको रूपमा देख्छौं, न कि लामो र प्रतिशोधात्मक व्यापार युद्धको सुरुवात, यद्यपि, यस्ता अवस्थामा, लगानीकर्ताहरूले पहिला बिक्री गर्छन् र पछि प्रश्न सोध्छन्, जुन सोमबारको बिक्री दबाबमा देखियो ।”
प्रतिक्रिया दिनुहोस्