काठमाडौं । आइएमई समूह सेवामूलक क्षेत्रबाट उत्पादनमूलक उद्योगमा पनि प्रवेश गरेको छ । महोत्तरीको गौशालामा पेपर र रौतहटमा सिमेन्ट फाइबर बोर्ड उद्योग स्थापना गरेर आइएमई समूह उद्योगमा प्रवेश गरेको हो ।
आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले रौतहटको विजयपुर फतवामा स्थापित ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग वैशाखदेखि सञ्चालनमा आउने बताए । उनले भने, ‘हामी सेवा क्षेत्रमा केन्द्रित थियौं, अब उत्पादनमूलक क्षेत्रमा पनि गयौँ ।’ सो समूहले महोत्तरीमा २ अर्ब लगानीमा स्थापना गरिएको नेपाल पल्स एन्ड पेपर इन्डस्ट्रिजको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् ।
पेपर उद्योगको दैनिक उत्पादन क्षमता ७० टन रहेको छ । डेढ अर्ब लगानी रहने सिमेन्ट फाइबर बोर्डको उत्पादन क्षमता दैनिक ७० हजारदेखि एक लाख वर्गफिट रहेको उद्योगका महाप्रबन्धक प्रदीप पण्डितले जानकारी दिए ।
‘अहिले सिमेन्ट फाइबर बोर्ड उद्योगमा मेसिनरी जडान र ड्राई परीक्षणको काम भइरहेको छ,’ उनले भने, ‘छिट्टै मेसिनरी जडान र परीक्षणको काम सकेर उत्पादनमा जाँदै छौँ ।’ योसँगै बैंक वित्त, फिनटेक, पर्यटन, हाइड्रो, अटोमोबाइललगायत सेवा क्षेत्रमा जमिरहेको समूह अब उद्योग क्षेत्रमा पनि प्रवेश गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले भने, ‘स्वदेशी कच्चा पदार्थको उपयोग गर्दै आयात प्रतिस्थापनको मुख्य ध्येयसहित उत्पादनमूलक उद्योगमा प्रवेश गरेका हौं, हामी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा केन्द्रित हुनेछौँ । उनले भने, ‘देशको समृद्धिमा योगदान पुग्ने खालका उत्पादन र सेवामूलक क्षेत्रमा लगानी बढाउँदै जानेछौँ ।’
स्वदेशमै गुणस्तरीय फाइबर बोर्ड उत्पादन गर्ने उद्देश्यसहित देशमै पहिलो अत्याधुनिक उद्योग सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ । सिमेन्ट फाइबर बोर्ड उद्योग चार बिघा क्षेत्रफलमा फैलिएको छ ।
उद्योगका प्रबन्ध निर्देशक पण्डितले तीन बिघामा उद्योग र एक बिघामा कच्चा पदार्थ रहने बताए । अहिले ७० हजार वर्गफिट बोर्ड उत्पादन क्षमता रहे पनि बजार मागअनुसार क्षमता बढाउने उनको भनाइ छ ।
अहिले उद्योगमा चिनियाँ लेटेस्ट प्रविधिको उद्योग जडान र ड्राई परीक्षणको काम चलिरहेको छ । उद्योगको उत्पादनमा करिब ५० प्रतिशत सिमेन्ट र अरू ५० प्रतिशत फाइबरलगायत अन्य कच्चा पदार्थ प्रयोग हुनेछ ।
हामीले ‘अहिले भारत र चीनबाट वार्षिक दुई अर्बभन्दा बढीको सिमेन्ट फाइबर बोर्ड आयात हुने गरेको छ,’ पण्डितले भने, ‘हाम्रो उद्देश्य सिमेन्ट फाइबर बोर्डको आयात प्रतिस्थापन गरी निर्यातसम्म गर्ने रहेको छ ।’
प्रतिक्रिया दिनुहोस्