Skip to content
Prabhu

छ महिनामा बैंकहरुको निक्षेप संकलन २ खर्ब ३९ अर्बले बढ्यो

काठमाडौं । बैंकिङ प्रणालीमा चालु आर्थिक वर्षको छ महिनामा २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुस मसान्तसम्म निक्षेप ३.७ प्रतिशतले बढेको हो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा निक्षेप संकलन ६.६० प्रतिशत अर्थात् ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँले बढेको थियो । ६ महिनामा बैंक वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती खातामा जम्मा भएको पैसाको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो निक्षेप क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत थियो ।

global
अर्घाखाँची सिमेन्ट

२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत छ । २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत थियो । बैंक वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब ६५ अर्ब ५६ करोड अर्थात् ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड अर्थात् ४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ ।

२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.३ प्रतिशतले, विकास बैंकहरूको ४.४४ प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह ५.३ प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६४.९ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal