काठमाडौं । प्रहरीले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्ने कार्यक्रम राखे पछि प्रहरीले सुरक्षा कडा बनाएको हो ।
प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
सुरक्षा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।
यही सन्दर्भमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने तयारीबारे छलफल भएकोे थियो ।
प्रतिक्रिया दिनुहोस्