एजेन्सी । उत्तर कोरिया सरकारका लागि काम गरिरहेका ठानिएका ह्याकरहरूले ठगी गरेको १.५ अर्ब डलर बराबरको क्रिप्टो ह्याकमध्ये कम्तीमा ३०० मिलियन डलर पुनः प्राप्त गर्न नसकिने कोषमा रूपान्तरण गर्न सफल भएका छन् ।
लाजारस समूहका नामले परिचित उनीहरुले दुई हप्ता अघि क्रिप्टो एक्सचेन्ज बाइबिट ह्याक गरी ठूलो मात्रामा डिजिटल टोकन चोरी गरेका थिए । त्यसयता, ह्याकरहरूलाई रोक्ने र उनीहरूले क्रिप्टोलाई प्रयोगयोग्य नगदमा रूपान्तरण गर्न नदिनका लागि निरन्तर निगरानी गरिएको थियो ।
विशेषज्ञहरूका अनुसार उक्त टोलीले २४ सै घण्टा काम गरिरहेको छ । साथै उक्त रकमलाई उत्तर कोरियाको सैन्य विकासमा लगानी गर्ने सम्भावना रहेको अनुमान गरिएको छ । “हरेक मिनेट ह्याकरहरुका लागि महत्त्वपूर्ण हुन्छ, जसले पैसाको स्रोत लुकाउन खोजिरहेका छन् । उनीहरू अत्यन्तै परिष्कृत छन्”, क्रिप्टो अनुसन्धानकर्ता तथा एलिपटिकका अनुसन्धानकर्ता डा टम रोबिन्सनले भने ।
डा रोबिन्सनका अनुसार क्रिप्टोकरेन्सी अपराधमा संलग्न समूहहरू मध्ये उत्तर कोरियालीहरू सबैभन्दा अब्बल छन् । “मलाई लाग्छ उनीहरूसँग क्रिप्टोलाई सफा गर्ने ठूलो समूह छ, जसले स्वचालित उपकरणहरू प्रयोग गरेर काम गरिरहेको छ । उनीहरू दिनको केवल केही घण्टा मात्र विश्राम लिन्छन्, सम्भवतः सिफ्टमा काम गरेर डिजिटल मुद्रालाई नगदमा परिणत गरिरहेका छन् ।”
एलिपटिकको विश्लेषण बाइबिटसँग मेल खान्छ । जसका अनुसार २० प्रतिशत रकम हराइसकेको छ । जसको अर्थ यो हो कि त्यो रकम पुनः प्राप्त हुने सम्भावना छैन ।
अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर कोरियालीहरूलाई विगतका वर्षहरूमा धेरै ह्याकहरू गरेर शासनको सैन्य र आणविक विकासको लागि कोष संकलन गरेको आरोप लगाएका छन् ।
कसरी भयो ह्याक ?
यही फेब्रुअरी २१ तारिख ह्याकरहरूले बाइबिटको आपूर्तिकर्तामध्ये एकलाई ह्याक गरेर ४ लाख १ हजार इथेरम क्रिप्टो सिक्का पठाइने डिजिटल वालेटमा पठाएका थिए । बाइबिटले आफ्नो वालेटमा रकम ट्रान्सफर भइरहेको सोचे पनि वास्तवमा उक्त रकम ह्याकरहरूको नियन्त्रणमा गएको थियो ।
हालसम्म २० जनाले चोरी भएको ४४० मिलियन पहिचान गर्न सफल भएका छन् । जसका लागि तिनीहरूले ४४ मिलियनभन्दा बढीको पुरस्कार प्राप्त गरेका छन् । तर विशेषज्ञहरू बाँकी रकम फिर्ता ल्याउने सम्भावनामा निराश छन्, किनभने उत्तर कोरियाली ह्याकरहरू यस क्षेत्रमा अत्यन्तै कुशल छन् ।
उत्तर कोरियाले कहिल्यै पनि लाजारस समूहको अस्तित्व स्वीकार गरेको छैन । तर उत्तर कोरिया विश्वकै एक मात्र देश हो जसले आर्थिक फाइदाका लागि आफ्नो साइबर ह्याकरहरूलाई परिचालन गरिरहेको छ ।
पहिले यी ह्याकरहरू बैंकहरूलाई निशाना बनाउँथे, तर पछिल्ला पाँच वर्षमा उनीहरूले क्रिप्टोकरेन्सी एक्सचेन्जहरूलाई लक्षित गर्न थालेका छन् । क्रिप्टो उद्योगमा बैंकहरू जस्तो सुरक्षाको संयन्त्र छैन, जसका कारण उत्तर कोरियाली ह्याकरहरूले सजिलै रकम लन्डरिङ गर्न सकिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्