काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति ४१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५.५० प्रतिशतले धेरै हो ।
बैैंक तथा वित्तीय संस्थालाई पछिल्लो सयम गैर बैंकिङ सम्पत्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण बन्द गएको हो । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंकहरुमा गैरबैकिङ सम्पत्ति बढ्दै गइरहेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको माघ मसान्तको तुलनामा चालु आर्थिक वर्षको माघसम्ममा बैंकहरुको गैर बैंकिङ सम्पत्ति १७ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको यस्तो सम्पत्ति २३ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरजग्गामा प्रवाह गरेको कर्जा उठ्न नसक्दा ती संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार सरकार तथा राष्ट्र बैंकलाई घरजग्गा अनुत्पादक क्षेत्र रहेको र लगानी गर्न सुझाव दिँदा अटेर गरेको परिणामा स्वरुप गैरबैंकिङ सम्पत्ति हरेक बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिन पुगेको हो । बैंकहरुको निष्क्रिय कर्जामा वृद्धि देखिए सँगै गैरबैंकिङ सम्पत्तिसमेत बढेको विज्ञहरु बताउँछन् ।
चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३५ अर्ब ८२ करोड ५० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनमा गैरबैंकिङ सम्पत्ति १५ अर्ब ९१ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति १९ अर्ब ९१ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको माघसम्म विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ५८ करोडरुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६ करोड १० लाख रुपैयाँले गैरबैंकिङ सम्पत्ति बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब ५१ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको माघसम्म वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब ३३ करोड ५० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गैरबैंकिङ सम्पत्ति ९८ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति १ अर्ब ३४ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नुपर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैरबैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शतप्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्