काठमाडौं । यही फागुन ११ गते पोखराको न्युरोडमा रहेको शर्मा आइटी हबमा आगलागी भयो । त्यसका सञ्चालक थिए रमेश शर्मा । नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइयो । उनले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै १ करोड रुपैयाँको बीमा दाबी गरे ।घटना शंकास्पद भएको भन्दै प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गर्यो । अनुसन्धानबाट पसलका सञ्चालक शर्माले बीमा रकम लिनकै लागि पसलमा आगो लगाएको प्रमाण भेटिएको प्रहरीको भनाइ छ । उनले पसलमा आफैंले आगो लगाएर बीमा रकम हत्याउन खोजेको प्रहरीको निष्कर्ष छ ।
शर्माको उक्त पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे खुलाएको तथ्यमाथि आशंका भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । कामदार बिदामा रहेको अवस्थामा रमेश आफैंले आगो लगाएको पाइएको कास्की प्रहरीले जनाएको छ ।उक्त घटनामा सञ्चालक शर्मालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी अहिले प्रहरी हिरासतमा छन् । शर्माले पोखरा–२७ तालचोकमा पनि शर्मा आइटी हब सञ्चालन गर्दै आएका थिए । जगरनाथपुर गाउँपालिका–३ घर भएका रमेशले ५ वर्ष अगाडिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेका थिए । त्यहाँ ६ जना कामदारसमेत छन् ।
न्युरोडको पसलमा २ जना कामदार थिए । उनीहरू बिदामा रहेका बेला मोबाइल चार्जमा राखेर ट्वाइलेट गएर फर्किँदा केही आवाज आई आगो लागेको बेहोरा उल्लेख गरेर रमेशले बीमा रकम दाबी गरेर थिए । यस्तै घटना गत साउन १६ गते पनि घटेको थियो । पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यस्तै घटना घटेको थियो । त्यो घटनामा पनि बीमा रकम लिनका लागि सञ्चालक आफैले पसलमा आगो लगाएका थिए । स्याङ्जाको आँधीखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको बताइएको थियो । त्यो बेला गहतराजले ‘इन्भर्टर सर्ट’ भएर आगो लागेको बताएपछि प्रहरीले आशंका गर्दै अनुसन्धान थालेको थियो ।
अनुसन्धानपछि पसल घाटामा रहेको र बीमाबापतको रकम दाबी गर्ने मनसायले आफैंले आगो लगाइएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । आफैंले आफ्नो पसलमा आगो लगाएको अभियोगमा गहतराज र उनलाई सघाउने पवन नेपाल अहिले पुर्पक्षका लागि थुनामा छन् ।यस्तै, शरीरै जिरीङ बनाउने घटना २०७९ साल साउन महिनामा पनि घट्यो । घटना बाँके जिल्लाको कोहलपुरमा भएको थियो । बीमाको लोभमा नक्कली बिहे गरेर बीमा बापतको रकम भुक्तानीसमेत लिइसकेको अवस्थामा प्रहरीले घटनामा संलग्नलाई विदेश जाने लागेको अवस्थामा त्रिभुवन विमानस्थबाट पक्राउ गरेको थियो ।
कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्लसहितका योजनाकारलाई प्रहरीले पक्राउ गरेको थियो । सपनाको बिहे सर्जन विकसँग गरेर आफैंले दुर्घटना गराएर मोटो रकम बीमाबापत भुक्तानीसमेत भएको थियो त्यो घटनामा । बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) का तत्कालिन अध्यक्ष सूर्य सिलवाले नै बीमा बापतको रकम बापतको चेक सपना मल्ललाई हस्तान्तरण गरेका थिए । योजनाबद्ध काम गरिरहेका योजनाकारहरूले रिलाइन्स लाइफ इन्स्योरेन्स (हालको सानिमा रिलाइन्स) कम्पनी कोहलपुरमा २०७७ फागनु २८ गते सर्जनको नाममा बीमा गराइयो । २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनीबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । तर, त्यो सबै योजनाअनुसार गराइएको दुर्घटना थियो । २ करोड ५० लाख रुपैयाँको चेकसमेत लिएर योजनाकाहरूले भाग बाँडीसकेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेर जेल पठाएको छ ।
यस्ता घटनाहरूले बीमा प्रतिको विश्वासलाई कमजोर बनाउने देखिन्छ । बीमा आफैंमा विश्वास हो । बीमा विश्वास बीमा गराउन सम्भवन नहुने बीमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ । केही नकारात्मक पक्ष सबैमा हुने भएकाले बीमामा पनि त्यस्ता खालका गतिविधिहरू हुने गरेको उनको भनाइ छ । यस्ता घटनाहरू घट्नुमा लोभ लालच नै प्रमुख कारण रहेको उनको भनाइ छ । ‘मानिस लोभी छ । लोभ गर्छ । लोभले लाभ लाभले बिलाप भने जस्तै कानुनको फन्दामा पनि पर्छ,’ उनले भने । यस्ता समस्याहरू समाधानका लागि अहिले कानुनमा नै व्यवस्था गरेर बिमितलाई पनि बारबाही गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
बीमा गराउने र आफैले क्षति गरेर बीमा रकम दाबी लिने कुरा फाइनान्सियल अपराध भएको बीमा विज्ञ रविन्द्र घिमिरेले बताए । मानिसहरू कहाँबाट पैसा आउँछ भनेर हेरिरहेका हुन्छ र उनीहरूले बीमालाई पनि हतियार बनाइरहेका हुन्छन् । ‘यो फाइनान्सियल अपराध हो । यसमा बैंक, सहकारी, बीमा र क्यापिटलल मार्केट पनि यसमा पर्छ,’ उनले भने । कोहीले भने कसैको उक्सावटमा पनि यो काम गर्ने गरेको उनको भनाइ छ । यसका लागि बीमा सबन्धी ज्ञान आवश्यक रहेको उनले बताए । रातारात धनी हुने लोभमा यस्ता कामहरू भइरहेको उनले बताए । ‘केही मात्रामा अरुको उक्सावटका कारण पनि यस्ता घटना हुन्छन् । राताराध धनी हुने चाहाना र चेतनाको कमीले पनि यस्ता घटनाहरू भइरहेका छन्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्