Skip to content
Prabhu

शनिबारदेखि ‘सोलार आवर’ सुरु, औद्योगिक क्षेत्रको लोडसेडिङ ८ बाट १२ घण्टा पुग्ने

काठमाडौं । भारतबाट ७ सय मेगावाटभन्दा धेरै बिजुली आयात भइरहेको बेला भोलि शनिबार चैत २ गते (मार्च १५) बाट ‘सोलार आवर’ सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली किन्दै आन्तरिक माग पूर्ति गर्ने प्रयास गरिरहेको छ ।

विद्युत उत्पादन कम हुने मार्च १५ देखि मे १५ सम्म तीन महिनाको समयमा भारतीय एक्सचेन्ज मार्केटमा ‘सोलार आवर’ अर्थात् बिहान ६ देखि बेलुकी ६ बजेसम्म मात्रै बिजुली आयात गर्न सकिन्छ । रातिको समयमा आयात गर्न सकिन्न।

global
अर्घाखाँची सिमेन्ट

यसले विद्युत प्राधिकरणको लोड व्यवस्थापनमा असर पर्ने र औद्योगिक क्षेत्रमा गर्दै आएको लोडसेडिङ बढाउनुपर्ने हुन्छ भन्दै प्राधिकरण स्रोतले औद्योगिक क्षेत्रमा बिहान र बेलुकीको पिक आवर गर्दै आएको ८ घण्टाको लोडसेडिङ १२ घण्टासम्म पुग्नसक्ने बताएका छन् ।

बेलुकी ६ बजेबाट बिहान ६ बजेसम्म बिजुली आयात गर्न नपाउँदा साथै अहिले लोड व्यवस्थापन गर्ने ढंगले दिउँसो ‘पिकिङ आरओआर’ बन्द गरेर राति चलाउने गरेकोमा भारतीय बिजुली आउन छाडेपछि राति १० बजेपछि लोड धान्न कठिनाई हुने स्रोतको तर्क छ ।

यो चापलाई धान्न उद्योगहरुमा बिजुली कटौती नगरी उपाय नहुने बताइन्छ । गर्मी बढेसँगै आन्तरिक उत्पादन झन कम हुने माग झन बढ्ने हुन्छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले ‘सोलार आवर’ सुरु भएर कुनै समस्या नपर्ने दाबी गर्दै आतंकित बनाउने गरी समाचारको शीर्षक नराखिदिन आग्रह गरे ।

सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न लागेको बेला ‘सोलार आवर’ सुरु हुन लागेको हो । उनलाई हटाउने तयारीसहित मन्त्रिपरिषदले नै स्पष्टीकरण सोधेको छ ।

एक सिमेन्ट उद्योगीले अरु मुलुकमा विद्युत आपूर्तिमा समस्या आउँदा सर्वसाधारणको लाइन काटेर भए पनि औद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्ति हुन्छ भन्दै नेपालमा भने फेरि विद्युत कटौती हुने कुरा चिन्ताको विषय भएको बताए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal