काठमाडौं । अस्ट्रेलियाका अर्बपति व्यवसायी शेष घलेले काठमाडौंमा निर्माणाधिन शेराटन होटल बिक्री अहिले सोच नभएको बताएका छन् ।
पछिल्लो समय शेराटन बिक्री हुन लागेको भन्ने समाचार आइरहेका छन् । शनिबार केही सञ्चारकर्मीसँग जुममा आयोजनामा भएको छलफलमा घलेले शेराटन बिक्रीको विषयमा सञ्चारमाध्यममा आएको आफूले सुनेपनि बिक्रीको कुनै योजना नभएको बताए ।
“व्यवसायमा लगानी गरेपछि किनबेचको कुरा जहिले पनि हुन्छ,एउटा व्यवसायीले कानून अनुसार लगानी गर्नु र बेच्नु स्वभाविक प्रक्रिया हो,”घलेले भने,“अहिले होटलको निर्माण कार्य अन्तिम चरणमा यो तत्काल बिक्रीमा छैन।”
एक दशक अगाडि तत्कालिन प्रधानमन्त्री शुसील कोइरालाले शेराटन होटलको शिलन्यास गरेका थिए । शेराटनसँगै र त्यसपछि निर्माण भएका होटलहरु सञ्चालनमा आएपनि शेराटनको निर्माण अहिलेसम्म सकिएको छैन ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)का पूर्व अध्यक्ष रहेका घलेले नेपालमा ड्रिम प्रोजेक्टको रुपमा शेराटन ब्राण्ड भित्राएर होटल लगानी गरेका थिए ।
नारायणहिटी दरबार नजिक रहेको १३ रोपनी जग्गामा निर्माण सुरु गरिएको उक्त होटलको लागत साढे ६ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।
अहिले १० अर्बजति लागत लागेको अनुमान गरिएको छ । घले अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीमा सबैभन्दा धनी व्यक्तिको रुपमा चिनिन्छन् । उनी अस्ट्रेलियामा नै धनी सूचिमा १०० भित्र पर्ने व्यवसायी हुन् । पछिल्लो समय सर्वोच्चको फैसला अनुसार घले गैरआवासीय नेपाली संघको अधिवेशन गराउनको लागि सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्