गोरखा । यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौं अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ ।
दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेल नमुना विद्यालय घोषित भई करोडौं अनुदान प्राप्त गरेपनि विगत पाँच वर्षको शैक्षिक प्रगति विवरण सन्तोषजनक नदेखिएको हो ।
गोरखा नगरपालिकास्थित महेन्द्र माविका प्राचार्य गोपालबाबु मरहट्टाले भने, ‘यो वर्ष १० लाख रुपैयाँ परेको छ, कार्यक्रम आएको सुरुको वर्ष ५० लाख रुपैयाँ आएको थियो ।’ प्राप्त बजेट शैक्षिक गुणस्तर निर्माणका लागि खर्च गरेको उनले बताए ।
उनका अनुसार १२र१२ कोठाको दुईवटा विद्यालय भवन, एउटा छात्रावास, व्यवस्थित शौचालय निर्माणसँगै कम्प्युटर, अन्य जिन्सी सामग्री खरिद गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
सो विद्यालयमा हाल पाँच सय ६४ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालय नमुना घोषणा भएको वर्ष २०७४ को एसईईमा औसत २ दशमलव ४० जीपीए थियो । विसं २०७५ मा २ दशमलव ४८, २०७६ मा २ दशमलव ५९, २०७७ मा २ दशमलव ७४, २०७८ मा २ दशमलव २७ र वर्ष २०७९ मा २ दशमलव २१ मात्र जीपीए ल्याएको छ । गतवर्ष २०८० को एसइई नतिजा घटेर १ दशमलव ७२ जिपिए छ ।
भीमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालस्थित दुल्लभ माविमा नमूना विद्यालय कार्यक्रम सञ्चालन भएसँगै भौतिक निर्माणले गति लिएको छ । हाल तीन सय २४ जना विद्यार्थी रहेको सो विद्यालयमा दुईवटा ६÷६ कोठे भवन निर्माण गर्नुका साथै विद्यालय बससमेत सञ्चालन गरिएको प्रअ लक्ष्मणबाबु आचार्यले बताए ।
नमुना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त वार्षिक १ करोड रुपैयाँ भौतिक पूर्वाधारमा र बाँकी ५० लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको उनले जानकारी दिए । विद्यालयको गतवर्षको एसईई नतिजा औसत ७५ दशमलव ८६ प्रतिशत छ ।
तीन सय १५ जना विद्यार्थी पढ्ने बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले कार्यक्रमअन्तर्गत सुरुको पाँच वर्ष डेढ–डेढ करोड र गतवर्ष ३० लाख रुपैयाँ प्राप्त गरेको छ । अनुदानवापत प्राप्त ४ करोड रुपैयाँ विद्यालय भवन निर्माणमा खर्च गरेको विद्यालयले जनाएको छ । ९७ लाख रुपैयाँ बराबरको चमेना गृह, २१ लाख रुपैयाँ लागतमा विद्यालयको मञ्च र करिब १० लाख रुपैयाँमा आइसिटी ल्याब निर्माण गरेको प्रअ प्राचार्य बाबुराम नेपालीले बताए ।
बजेट करोडौं खर्च गरेपनि एसईईको नतिजा खासै राम्रो देखिएको छैन । सुरुको वर्ष विसं २०७५ मा विद्यालयले २ दशमलव २५ जीपीए प्राप्त गरेको थियो । विसं २०७६ मा २ दशमलव ८४, २०७७ मा ३ दशमलव१४, २०७८ मा २ दशमलव २० र विसं २०७९ मा २ दशमलव ६५ जीपीए प्राप्त गर्यो भने गत वर्ष जम्मा ० दशमलव ५६ जीपीए प्राप्त गरेको छ ।
३६५ जना विद्यार्थी पढ्ने अर्को नमुना विद्यालय सिरानचोक–८ जौवारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसईई नतिजा ६४ दशमलव २८ प्रतिशत छ । यस्तै, विद्यालयले २०७९ मा २ दशमलव ५५, २०७८ मा २ दशमलव ५३, २०७७ मा २ दशमलव ८५, २०७६ मा २ दशमलव ८५ र २०७५ मा २ दशमलव ८७ जीपीए ल्याएको थियो ।
जिल्लामा सबैभन्दापछि नमूना विद्यालय घोषणा भएको पालुङटार नगरपालिकास्थित अमरज्योति जनता माविमा गतवर्ष एसईई परीक्षामा नौ जना अनुत्तीर्ण भएको विद्यालयले जनाएको छ । त्यसअघिका वर्षहरुमा ग्रेडिङ प्रणाली लागू भएकाले केही विद्यार्थी फेल नभएको विद्यालयका प्रअ माधव देवकोटाले बताए ।
६ सय ३० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा हाल नमुना विद्यालय कार्यक्रमको चौथो वर्ष सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्