काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबार नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै नागरिक लगानी कोष, सञ्चय कोषलगायतका कोषहरुको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रबर्द्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने अध्यक्ष ढकालले बताए ।
उनले कोषहरुको करिब ५२ प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रूपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए ।
नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत कोषहरुमा करिब ५२ प्रतिशतभन्दा बढी फण्ड रहेको बताउँदै उनले भने, ‘करिब २ खर्ब ७० अर्बको हाराहारीमा यहाँहरुको फन्ड रहेछ । त्यसै गरेर एसएसएफको कुरा गर्दा १ खर्ब जति छ ।
सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ । तर, हामी खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराहरु, आम पब्लिकलाई सर्भिस दिने कुराको त्यत्तिकै खाँचो छ । यो फण्डको प्रयोग गर्न सकिरहेका छैनौं ।’
ढकालले भने, ‘एउटा मेरिट बेसिसमा सर्टेन प्रसेन्टेज पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रबर्द्धन, हाइड्रोपावरलगायत कतिपय फण्ड सरकार मातहतका कम्पनीहरुमा सुरु भइसकेको छ । निजी क्षेत्रको प्रोजेक्टमा पनि लगानी गर्नुपर्छ ।’
अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्