काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्यलाई निरन्तरता दिन अनुमति दिएको छ ।
अहिले अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एमसिए नेपालले जनाएको छ ।
यसअघि फेब्रुअरी २४ तारिखमा समीक्षाका लागि भन्दै ९० दिनका लागि स्थगित गरेका केही कार्यक्रम अघि बढाउन अनुमति आएको एमसीए नेपालले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
यसअघि अमेरिकाले स्थगित गरेका कारण नेपालले प्राप्त गरेको अहिलेसम्मकै ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठेको थियो । तर, अहिलेको अनुमतिले पनि ट्रम्प प्रशासनले गर्ने अन्तिम निर्णयप्रति संकत नगर्ने एमसीए नेपालको सूचनामा उल्लेख छ ।
विज्ञप्तिमा एमसीए नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उल्लेख छ । एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले पाँच सय ५० मिलियन अमेरिकी डलर अर्थात् झन्डै पौने ७६ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको थियो ।
ती परियोजनामा नेपाल सरकारले एक सय ९७ मिलिअन अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको छ । सन् २०२२ मा नेपालको प्रतिनिधिसभाले अनुमोदन गरेर त्यसको झन्डै डेढ वर्षपछि कार्यान्वयन सुरु भएको आयोजना नेपालमा ठूलो राजनीतिक विवाद ल्याएको आयोजना पनि हो ।
प्रतिक्रिया दिनुहोस्