काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार बैंकको सञ्चालक समिति समक्ष सीईओ ढुंगनाले राजीनामा दिएका हुन् ।
राजीनामा बुझाएर ढुंगाना अनिवार्य बिदामा बसेका छन् । तर, उनको राजीनामा भने स्वीकृत नभएको बैंक स्रोतले जनाएको छ । नेपाल बंगलादेश बैंकमा हुँदा ढुंगाना गभर्नरको रेसमा थिए । सोही क्रममा उनले सञ्चालक समितिलाई राजीनामा बुझाएको भए पनि रेसबाट आउट भएपछि सञ्चालक समितिले राजीनामा स्वीकृत नगरेको भन्दै पुनः काममा फर्किएका थिए ।
हाल नेपाल राष्ट्र बैंकको १९औँ गभर्नरको रेसमा ढुंगानाको नाम पनि चर्चामा छ । यदि कांग्रेसको भागमा पर्यो भने ढुंगाना गभर्नरका बलिया दाबेदार हुन् ।
अर्बपति विनोद चौधरी निकट रहेका ढुंगाना गभर्नर बन्ने चर्चासँगै नबिल बैंकको सीईओबाट उनको राजीनामाको खबर बाहिरिएको हो । ढुंगानाले भने यस सम्बन्धमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्