काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा बीमाको दायरामा आउने जनसंख्या सामान्य बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको संंख्या केही मात्रामा बढेको छ भने त्योबाहेक बीमाको दायरामा आउने संख्या घट्दै गएको हो ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार फागुन महिनासम्म बीमाको दायरामा आउने जनसंख्या (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४४.१७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो संख्या ४३.१६ प्रतिशत रहेको थियो ।
वैदेशिक रोजगारीमा जानेहरुले गरेको बीमालाई यसमा समावेश नगर्ने हो भने यो संख्या निकै कम रहेको छ । बीमाको दायरमा आउने म्यादी र लघु म्यादी जीवन बीमालेख सहितको संख्या जम्मा जनसंख्याको ३६.३९ प्रतिशत रहेको छ । यो गत आवको सोही अवधिमा ३६.६० प्रतिशत रहेको थियो ।
प्राधिकरणको तथ्यांकअनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक बीमाको दायरामा आउने संख्या भने जम्मा १६.५७ प्रतिशत रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यस्तो जनसंख्या १७.०४ प्रतिशत रहेको थियो । प्राधिकरणको तथ्यांकअनुसार यो १४ वटा जीवन र तीनवटा लघु जीवन बीमा कम्पनीहरुको तथ्यांक हो ।
हाल नेपालमा १४ वटा ठूला जीवन र ठूला निर्जीवन बीमा कम्पनी, चारवटा निर्जीवन लघु बीमा कम्पनी र तीन वटा लघु जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । यी सबै कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा कुल १ खर्ब ३८ अर्ब ४ करोड ४४ लाख बीमा शुल्क संकलन गरेका छन् ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए ।
कम्पनीहरुको बीमा व्यवसाय बढे पनि बीमाको दायरामा आउने जनसंख्या भने बढ्न सकिरहेको छैन । बीमा महँगो भएकाले पनि बीमा गराउनेको संख्या थोरै भएको बीमा विज्ञहरुले बताउने गरेका छन् ।
तथ्यांकअनुसार फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको वर्षमा जीवन बीमा कम्पनीहरुले गत आवको तुलनामा ११ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुले गत आवको भन्दा ८.९१ प्रतिशतले बीमा शुल्क वृद्धि गर्न सफल भएका छन् ।
गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । त्यस्तै निर्जीव बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
चालु आर्थिक वर्ष फागुनसम्म जीवन बीमा कम्पनीहरुले २३ अर्ब ८० करोड ८० लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ८५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १८ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क आर्जन गरेका थिए ।
समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ४२ लाख ३८ हजार ६४८ वटा रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ३८ लाख ७ हजार २४९ वटा थियो । समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५३ लाख ८८ हजार ७९४ वटा रहेको छ । जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा १.९१ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५४ लाख ९३ हजार ७८६ वटा थियो ।
बीमाको दायरामा आउने जनसंख्या बढाउनका लागि कानुनी रुपमा नै सुधार गर्नुपर्ने आवश्यकता रहेको बीमा विज्ञ रवीन्द्र घिमिरेको भनाइछ । आर्थिक सम्पन्न हुन नसक्नु पनी बीमाको दायरामा पुग्न नसक्नु रहेको उनले बताए । ‘अहिले ३० प्रतिशत जनसंख्या गरिव रहेको तथ्यांक छ । बीमा महँगो हुने भएकाले पनि कम मानिसहरु यसमा जोडिएका हुन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्