Skip to content
Prabhu

नवलपरासीमा ३० करोडको लागतमा अस्पताल भवन निर्माण

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब १२ करोड रुपैयाँ लागत र नेपाल हिल्फे संस्थाको १८ करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताए। नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ ।

global
अर्घाखाँची सिमेन्ट

पन्ध्र शय्याको अस्पतालले पुरानो भवनबाट ८० शय्याको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै शय्या सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा आचार्यले बताए। स्वीकृत दरबन्दी १५ शय्याको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उनको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी १६४ कर्मचारी कार्यरत छन् ।

सामुदायिक रूपमा सञ्चालित सो अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ श्ययाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो ।

अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताए । जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको उनले बताए ।

अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते यहाँ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अस्पताललाई एक सय शय्याको बनाउने आश्वासन दिएको अध्यक्ष घिमिरेले बताए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal