काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग आज सिंहदरबारमा छलफल गर्दै उनले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने प्रतिबद्धता जनाए।
सो अवसरमा मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथामिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वातावरण बन्न सकोस् भन्ने आफ्नो चाहाना रहेको बताउनुभयो । आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
छलफलमा मन्त्री अधिकारीले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गर्ने बताए । मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका पालिकाका प्रमुख एवं उपप्रमुखहरूसँग पनि यस विषयमा शुक्रबार मन्त्रालयमा छलफल आयोजना गरिएको जानकारी दिए ।
मन्त्रालयमा आज भएको छलफलमा धादिङ जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा गोविन्दप्रसाद शर्मा, डा राजेन्द्रप्रसाद मिश्रलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्