काठमाडौं । भारतबाट थप विद्युत् आपूर्ति हुने भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीदीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति गरेको हो।
इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। उक्त विद्युत् ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारत जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।
नेपालमा सुक्खा याममा हुने विद्युत् समस्याको समाधानका लागि भारत सरकारसँग थप विद्युत् माग गरेकोमा भारतले सहमति जनाएर विद्युत् उपलब्ध गराउनु हामी सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताए । उनले भने, ‘नेपाली जनतालाई २४ सै घण्टा विद्युत् दिन सरकार प्रतिबद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौँ ।’
नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्ति सँगै लोडसेडिङ हुने हल्ला चलेको थियो । तर, भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ टरेको हो ।
प्रतिक्रिया दिनुहोस्