Skip to content
Prabhu

दिनभर असान्त तीनकुने : दुई जनाको मृत्यु, सुपर मार्केटबाट सामान बोकेर हिडेको दृश्यले बंगलादेशको झल्को

काठमाडौं । शुक्रबार दिन भर देशको संघीय राजधानी असान्त बन्यो । आज एकै दिन दुई पक्षको शक्ति प्रदर्शनको कार्यक्रम भएकाले बिहान देखिनै सडकमा सवारी साधन कम मात्रै गुडेका थिए । प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । राजबादीहरुले तीनकुनेमा कार्यक्रम गर्ने पूर्वनिर्धारीत कार्यक्रम हरेको थियो भने समाजबादी मोर्चाको कार्यक्रम भृकुटिमण्डपमा आयोजना हुने कार्यतालिका थियो ।

यी दुई स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । बिहानै देखि सडक खालि थिए भने सडक किनाराहरुमा अरु दिनको भन्दा बाक्लो प्रहरी उपस्थिति रहेको थियो । विभिन्न ठाउँबाट प्रर्दशन सहितका कार्यक्रम हुने भएकाले ट्राफिक व्यवस्थापनमा पनि केही असज भएको थियो । तर, जब तीनकुनेमा हुने भनिएको राजावादीहरुको प्रदर्शनमा आएकाहरु बानेश्वर तर्फ अघि बढ्न खोजे त्यस पछि अवस्था एका एक असान्त बन्न पुग्यो । प्रहरीसँग प्रदर्शनकारीको ठेलमठेलबाट सुरु भएको नोकझोक तोडफोड र आगजनीसम्म पुग्यो ।

global
अर्घाखाँची सिमेन्ट

अवस्था नियन्त्रण बाहिर गए पछि प्रशासनले कर्फ्यु लगायो । अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर पनि गर्नु पर्ने अवस्था आयो । असान्त बनिरहेको काठमाडौंमा दुई जनाले ज्यान नै गुमाउन पुगे । प्रदर्शनको भिडियो खिच्न बसेको घरमै प्रदर्शनकारीले आगो लगाउँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भयो । त्यस्तै प्रदर्शनकै क्रममा कीर्तिपुरका २९ वर्षीय सुविन महर्जनले ज्यान गुमाए । अवस्था यतिसम्म उग्र बन्यो कि प्रदर्शनकारीले विभिन्न निजी घरहरु तोडफोर्ड गर्ने देखि भाटभेटिनि सुपर मार्केटमा गएर सामानहरु बोकेर जाने देखि तोडफोर्ड गर्ने काम गरे ।

प्रदर्शनकारीले एकीकृत समाजबादीको पार्टी कार्यालयमा आगजनी गरे । तीनकुनेमा पनि घरमा आगो लगाए । जहाँ एभिन्यूज टेलिभिजनका क्यामेरा प्रसन सुरेश रजकको जलेर मृत्यु भयो । त्यस्तै जडिबुटिमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् । आज दिनभर भएका यस्ता घटनाको दोष भने आन्दोलनरत पक्षले सरकारलाई दिएका छन् भने सरकारले राजावादीको आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँलाई दिएको छ ।

गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले सबै घटनाको जिम्मेवार प्रसाईँ रहेको बताए । ‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ,’ उनले भने । प्रवक्ता तिवारीले जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै लिनुपर्ने बताए ।

यता राजाबादी पक्षले भने आज भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनु पर्ने बताएको छ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । प्रहरीले सुरुमै बल प्रयोग गरेर कार्यक्रम गर्न नदिँदा यो स्थिति उत्पन्न भएको उनको दाबी छ ।

उनले एक भिडिओ जारी गर्दै प्रहरीको गोलीबाट मारिएका सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । एक पक्षले अर्को पक्षलाई दोषारोपण गरेर पन्छिन खोजेपनि आन्दोलनमा ज्यान पनि नेपालीको नै गयो । जे जति भौतिक क्षति भयो त्यो पनि राज्यको र नेपालीको नै भएको छ । गणतन्त्रमा बोल्न र सभा समारोह गर्न पाइन्छ । तर, अराजक भएर तोर्डफोड गर्ने र मान्छेले गुहार माग्दा पनि घर भित्र जलाउने यस्ता कार्यले समाज कता जाँदैछ भन्ने प्रश्न खडा भएको छ ।

के अहिले आन्दोलन गरेर राजा ल्याउँछौँ भन्नेहरुलाई भौतिक संरचना नचाहिने हो ? हिंसाबाट देशको विकास हुने भए त १० वर्ष माओवादीले गरेको हिंसाबाट नेपालले विकासको कायापलट गर्नु पगर्नु पर्ने थियो होला नि ? हिंसाले देश विकासमा होइन विनासका लागि मात्रै सहयोग पुग्छ । त्यसैले सबै पक्ष सम्यमित भएर अघि बढ्नु पर्ने जरुरी हुन्छ । अब भाटभटेनिबाट सामान लिएर हिन्दै गरेको दृश्य देख्दा लाग्थ्यो सायद नेपाल पनि अब श्रीलंका र बंगलादेशको अवस्थामा त पुगेको होइन । जहाँ आन्दोलनरत पक्षले राष्ट्रपति कार्यालयमा कब्जा गरेर टेलिभिजन देखि महंगा सामानहरु लिएका दृश्यहरु देखिएको थियो । आज कोटेश्वरको भाटभेटेनिमा भएको दृश्यले पनि यसैको झल्को दिएको थियो । जहाँबाट प्रदर्शनकारीले बियरको बोटल देखि फलफूल बोकेर आफ्नो बाटो लागिरहेका थिए । बंगलादेशमा भएको आन्दोलनका क्रममा त्यहाँका आन्दोलनकारीले प्रधानमन्त्री कार्यालयबाट सोफा समेत बोकेर लगेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal