काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्ने–गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । बोर्डले शुक्रवार उक्त निर्देशिका जारी गरेको हो ।
निर्देशिका जारी भए सँगै अब कुनै पनि ब्रोकर कम्पनी मर्जर वा प्राप्तिको लागि योग्य हुने छन् । निर्देशिका अनुसार कुनै पनि ब्रोकर कम्पनीले मर्जरमा जाने भए सबैभन्दा पहिले सैद्धान्तिक सहमतिको लागि संयुक्त रुपमा निवेदन दिनु पर्नेछ । निवेदन दिए पश्चात् बोर्डले उक्त निवेदन उपर जाँचबुझ गर्ने छ । जाँचबुझ गर्दा सैद्धान्तिक सहमति प्रदान गर्न बोर्डले उपयुक्त हुने देखेमा १५ कार्य दिन भित्र त्यस्ता धितोपत्र व्यवसायीलाई गाभ्ने–गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक सर्त तोकी सैद्धान्तिक सहमति दिने छ ।
यदि सैद्धान्तिक सहमति प्रदान गर्न नसकिने देखिएमा त्यस्तो सैद्धान्तिक सहमति प्रदान नगर्ने भनी बोर्डबाट निर्णय भएको मितिले सात दिनभित्र सोको कारण समेत खुलाई निवेदकलाई जानकारी दिने छ । धितोपत्र व्यवसायीले गाभ्ने–गाभिने वा प्राप्ति गर्ने कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।
ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ । आगामी असार मसान्तभित्र यो पुँजी पुर्याउनुपर्ने नियामक धितोपत्र बोर्डले सीमा दिएको छ । हाल सञ्चालनमा रहेका ९० वटा स्टक ब्रोकर कम्पनीमध्ये ३८ वटाले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । पछिबाट सञ्चालनमा आएका ४० वटै ब्रोकर कम्पनीले २० करोड पुँजी पुर्याए पनि पहिले नै सञ्चालनमा आएका ५० मध्ये ३८ कम्पनीको पुग्न बाँकी छ । अब यी कम्पनीहरु एक आपसमा गाभिएर पनि बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्