काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा आर्मीले दिएको १५५ रनको लक्ष्य पुलिसले ४ विकेट गुमाएर २५.२ ओभरमा पूरा ग¥यो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । त्यस्तै हमित श्रेष्ठले ३९ रन बनाए । दिलिप नाथ ३१ रनमा अविजित रहे । आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भएको थियो । आर्मीका लागि बसिर अहमदले सर्वाधिक ८६ रन बनाए । २५ रनमै ५ विकेट गुमेपछि बसिरले कप्तान विनोद भण्डारीसँग मिलेर ८० रनको साझेदारी गरेका थिए । विनोद २९ रनमा आउट भए । विवेक यादवले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि करण केसी र सागर ढकालले ३–३ विकेट लिए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्शन झाले १–१ विकेट लिए । दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग समूह चरणको अन्तिम खेलमा पराजित भएको थियो । गतवर्षको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए जहाँ आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । त्यस्तै जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले बाजी मारेको थियो । आर्मी र पुलिससँगै शीर्ष ४ मा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्