काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको हो ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ ।
निगमले डिजेल र मट्टितेलको मूल्य पनि घटाएको छ । निगमले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाएको हो । निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो । सोहीअनुसार पेट्रोलको भाउ कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेल को भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ । जसअनुसार अब काठमाडौँमा डिजेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्