काठमाडौं । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सनालाई कामू गभर्नरको जिम्मेवारी दिएको छ ।
अर्थमन्त्रालयले आइतबारदेखि लागू हुने गरेर ढुंगानालाई कामू गभर्नरको काम गर्ने जिम्मेवारी तोकेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाँचवर्षे कार्यकाल सकेर शुक्रबारदेखि बिदा भएका छन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
नियम अनुसार गभर्नर अवकास हुनुभन्दा एक महिना अगाडि गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था भएपनि विगतमा यो कार्यान्वयनमा हुने थिएन ।
गभर्नर सिफारिसको लागि उपप्रधान एवम् अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल तथा पूर्वगभर्नर विजयनाथ भट्टराईको संयोजकत्वमा समिति गठन भएको छ । तर,सिफारिस समितिको बैठक भने अहिलेसम्म बसेको छैन । सोमबार नियमित मन्त्रिपरिषदको बैठक बोलाइएपनि गभर्नरको नियुक्ति हुने नहुँने भन्ने ढुंगो भने छैन।
गभर्नरको लागि एमाले कोटाबाट बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तथा योजना आयोगका सदस्य डा प्रकाश श्रेष्ठ तथा कांग्रेसबाट राष्ट्र बैंकका सञ्चालक रविन्द्र पाण्डे र अहिलेका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट दावेदार छन् । यसबाहेक शक्तिकेन्द्र तथा विभिन्न व्यक्तिहरुमा पूर्वमुख्य राजेन्द्रकिशोर क्षेत्री,ज्ञानेन्द्र ढुंगाना समेत दावेवारको रुपमा अगाडि प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्