Skip to content
Prabhu

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यावलोकन गरी प्रकृतिमा रमाउन आउने पर्यटकको सुविधाका लागि नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् सुविधा विस्तार गरेको हो ।

पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलमा विद्युत् सुविधा विस्तार गरिएको केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

घोडेपानीवासीको मागअनुसार २०८० साल पुसमा २५ लाख रुपैयाँ खर्चेर विद्युतीयको लाइन पुर्याए पनि गाउँपालिकाले हालै मिटरबक्स जडान गरेपछि विद्युत् वितरण थालिएको उहाँले बताउनुभयो । घोडेपानी क्षेत्रको विद्युत् आपूर्तिलाई सहज र गुणस्तरीय बनाउन नाङ्गो तार हटाएर एबिसी केबुल र ५० केभीए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको छ ।

विद्युत् सुविधा भएपछि पदमार्गमा सडक बत्ती जडान गर्न र पुनहिलमा लिफ्ट प्रविधिबाट पानी तानेर लैजाने तयारी गरेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए । पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन् ।

चुरेन, पुथा, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्योभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले १५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले ४० लाख १०० रुपैयाँ मा ठेक्का लगाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal