काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज (चैत २८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सयर सर्वसाधारणका लागि निष्काशन गर्न गरेको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा २०८२ बैशाख २ गते हुनेछ भने ढिलोमा बैशाख ११ गते हुनेछ ।






प्रतिक्रिया दिनुहोस्